वृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रवद्र्धनका सरोकारवालालाई कार्यकारी नीति नेतृत्व प्रशिक्षण

हिमाली आवाज । पोखरामा वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्दन कार्यक्रम (जीप) र मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसीप (सिएमपिजीएफ)का सरोकारवालाहरुलाई कार्यकारी नीति नेतृत्व तालिम सञ्चालन गरिएको हो । सो तालिमा आजदेखी पोखरामा सुरु भएको छ । तालिम चैत १० गतेसम्म चल्नेछ ।

तालिममा प्रदेश तथा स्थानिय तहका सचिव, प्रमुख प्रशासकीय अधिकृत, योजना तथा उद्योग शाखा प्रमुखहरुसँगै जीप कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका अधिकारीहरुको सहभागीता रहेको जीपका मिडिया फोकल पर्सन निखिल संग्रौलाले हिमाली आवाजलाई जानकारी दिनुभयो । तालिमको गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुभयो ।
कृषिको नीति निर्माण, सुशासन कायम र कार्यान्वयन क्षमता अभिवृद्दि गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र पाँच पालिकाहरु (हुप्सेकोट, सिरानचोक, म्याग्दे, जलजला र बडिगाड)को संयुक्त आयोजनामा कार्यक्रम भएको छ ।

प्रशिक्षणमा नेपाल सरकारका पूर्व मुख्य सचिव बैकुण्ठ अर्याल, पूर्व सचिवहरु कृष्ण ज्ञवाली, यमकुमारी खतिवडा, उदयराज सापकोटा, केवल भण्डारी, प्रा.डा.भगवान कोईराला, सुशासन विज्ञ उत्पल मिश्र, दायित्व संस्थाका अध्यक्ष डा.पुकार मल्ल र दायित्व संस्थाका कार्यक्रम व्यवस्थापक संहिता राणाले सहजीकरण गर्ने तालिममा सहभागीहरुको सार्वजनिक नीति निर्माण, आर्थिक सुशासन, सार्वजनिक वित्तीय व्यवस्थापन, कानूनी सहजीकरण र बहु क्षेत्रीय साझेदारीजस्ता विषयमा क्षमता अभिवृद्दि गर्ने उद्देश्य रहेको छ ।

जीप कार्यक्रमले उद्यम केन्द्रीत रोजगारी सिर्जना, प्रमाणमा आधारित नीति निर्माणमा सहयोग तथा प्रभावकारी कार्यान्वयनका लागि प्रशासनिक क्षमता अभिवृद्धिमा जोड दिदै आएको छ । जीपले उद्यम केन्द्रीत रोजगारी सिर्जना, प्रमाणमा आधारित नीति निर्माणमा सहयोग तथा प्रभावकारी नीति कार्यान्वयनका लागि राज्यको प्रशासनिक क्षमता अभिवृद्दिका लागि काम गर्दै आएको संग्रौलाले बताउनुभयो ।

गण्डकी प्रदेशका पाँच पालिकामा सञ्चालित जीप कार्यक्रम अन्तर्गत ८ मापदण्डका आधारमा जीप कार्यक्रम सञ्चालन भएका ५ पालिकाका २ सय उत्कृष्ट कृषि उद्यमी छनौट गरेर सक्षमीकरण तालिम प्रदान गर्नुका साथै उनीहरुमध्ये १ सय उत्कृष्ट उद्यमी घोषणा गरी उद्यम नवप्रवर्तनसम्बन्धी तालिम प्रदान गरिसकिएको छ ।

अनुगमन र भोटिङका आधारमा गण्डकी प्रदेशमा उत्कृष्ट ५५ कृषि उद्यमी घोषणा गरिएको तथा हरेक पालिकाका उत्कृष्ट उद्यमी पहिचान गरि प्रति उद्यमी एक लाख रुपैयाँ बराबरको नवप्रवर्तनमुखी प्रविधि खरिदका लागि अनुदान रकम प्रदान गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसीप (सिएमपिजीएफ) अन्तर्गत युवा फेलोमार्फत नीति निर्माण र कार्यान्वयन प्रक्रियामा नविन सोच र दक्ष जनशक्ति परिचालन गरिदै आएको बताइएको छ ।

कार्यक्रम सञ्चालनका लागि प्रदेश समन्वय समिति र स्थानीय सञ्चालन समिति गठन गरी कार्यान्वयनलाई व्यवस्थित बनाइएको छ।

Comments
Loading...