बीवाइडी आयात बारे साइमेक्स इन्कको स्पष्टीकरण : ‘सबै प्रक्रिया र प्रचलित कानुन अनुसार गरेका छाैँ’

हिमाली आवाज ।   साइमेक्स इन्कले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात गरिएको सम्बन्धमा उब्जिएका प्रश्नहरूको स्पष्टीकरण दिएको छ ।

विभिन्न सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा भइरहेका चर्चाप्रति ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले सबै आयात प्रक्रिया प्रचलित कानुन, भन्सार नियमावली र पारदर्शी व्यावसायिक पद्धतिअनुसार नै सम्पन्न भएको दाबी गरेको छ । साइमेक्स नेपालका लागि बीवाईडी सवारीसाधनको आधिकारिक वितरक हाे ।

‘२२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म तिनको भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन । कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध नै गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारी निकायसँगको मिलेमतोमा कर परिवर्तनबाट बच्न गाडीहरू हतारहतार भित्र्याइएको भन्ने आरोपलाई कम्पनीले पूर्णत: निराधार र असत्य भनेको छ । सिमेक्स इन्कले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यस्तो कुनै अनुरोध समेत नगरेको स्पष्ट पारेको छ ।

‘कर परिवर्तनबाट बच्न खोजेको भन्ने आरोप कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालका छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सबै गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन र ढुवानी तालिकामा आधारित छन् ।’

कम्पनीका अनुसार ग्राहकबाट पहिले नै भइसकेको बूकिङ सुनिश्चित गर्न र नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न गाडीहरू आयात गरिएका हुन् । बीवाईडीको उत्पादन तालिका, ढुवानीको उपलब्धता र नियमित व्यावसायिक योजनाअनुसार नै आयातका कार्यहरू सम्पन्न भएको कम्पनीको जिकिर छ ।

साइमेक्स इन्कले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाउँदै सत्यतथ्य स्थापित गर्न आवश्यक पर्ने आयात रेकर्ड, भन्सार घोषणा, भुक्तानी विवरण र ढुवानी अभिलेख जस्ता सम्पूर्ण कागजातहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

Comments
Loading...