गण्डकी प्रदेश सरकारले ल्यायो ३२ अर्ब ९९ करोड बजेट

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा आज बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात ३८.५६ प्रतिशत, पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात ६०.६८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात ०.७६ प्रतिशत रकम विनियोजन गरिएको छ।

बजेटका स्रोतहरुमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान सरकारको छ ।

गण्डकी प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने तथा चालु आवका कार्यक्रम कार्यान्वयनपछि २ अर्ब नगद मौज्दात रहने अनुमान गरिएको छ।

सरकारले दिगो र गुणस्तरीय पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको प्रवद्र्धन, आर्थिक क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण र राजस्व क्षेत्रको व्यवस्थापन, कृषि क्षेत्रको व्यावसायिकरण, यान्त्रिकीकरण र बजारीकरणलाई सरकारले बजेटका प्राथमिकतामा राखेको छ।

यसैगरी, डिजिटल शासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन प्रवद्र्धन, मानव संशाधन विकास र रोजगारी सिर्जना, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, जनस्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकता दिइएको छ।

पर्यटकीय राजधानी पोखरासहित समग्र गण्डकी प्रदेशमा आगामी ५ वर्षभित्र विदेश पाहुनादर दोब्बर पु¥याउने सरकारको लक्ष्य छ। आर्थिक मामिला मन्त्री शेरचनले बजेट प्रस्तुत गर्दै विदेशी पर्यटकको आगमन दोब्बर बनाउनका लागि हवाई पहुँच बिस्तारमा जोड, विभिन्न धार्मिक पर्यटकीय पदमार्गको बिस्तार, सिमापार पर्यटन प्रवद्र्धनमा जोड दिने उल्लेख छ ।स्वास्थ्य क्षेत्रतर्फ विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तार एवम् सुदृढीकरणमा जोड दिइएको छ ।

यसका लागि सरकारले प्रादेशिक जनरल तथा सरूवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पताल कास्कीको भवन निर्माणको लागि रू ६ करोड विनियोजन गरेको छ ।
यसैगरी मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर र गोरखामा सिटीस्क्यान मेसिन खरिदका लागि रु १० करोड विनियोजन गरिएको अर्थमन्त्री शेरचनले बताउनुभयो ।
गण्डकी प्रदेश सरकार मातहतका अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न रु तीन करोड ५० लाख विनियोजन गरेको छ ।
सरकारले नसर्ने रोगको समयमै पहिचान, उपचार तथा व्यवस्थापन एवम् योग, ध्यान, मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवद्र्धनका लागि समेत बजेट छुट्टाएको छ ।
बजेटमा पर्यटनको प्रमुख गन्तव्यहरु फेवाताल र रुपातालमा सेल्फी ब्रिज र शिसाको पुल बनाउन बजेट विनियोजन गरिएको छ ।
मन्त्री शेरचनले फेवातालमा फेवा होराइजन पेडेष्ट्रियन ब्रिज (सेल्फी ब्रिज) निर्माणका लागि र रुपातालमा शिसाको ब्रिज निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजन गरेको बताउनुभयो ।

Comments
Loading...