हिमाली आवाज । कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको २० औँ गाउँसभामा आज उपाध्यक्ष लालसुब्बा गुरुङले बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
गाउँपालिकाले आगामी वर्षको बजेटलाई ‘स्थानीय उत्पादनमा जोड, स्थानीय स्रोत–साधनको उच्चतम उपयोग र सीपमूलक तालिममार्फत मानव संसाधन विकास’ गर्ने उद्देश्यका साथ ल्याएको जनाएको छ। बजेटले रूपा गाउँपालिकाको दीर्घकालीन सोच ‘रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान’ लाई सार्थक बनाउने अपेक्षा गरिएको छ । बजेट अघि गाउँपालिका अध्यक्ष नवराज ओझाले वार्षिक नीति कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले कृषि, पूर्वाधार र सुशासनलाई प्राथमिकता दिएको अध्यक्ष ओझाले बताउनुभयो ।
गाउँपालिकाको आगामी वर्षको बजेटमध्ये चालुतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ५५ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारका अनुदान, राजस्व बाँडफाँड, आन्तरिक स्रोत तथा गत वर्षको मौज्दात रकमलाई आधार बनाइएको छ।
कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिँदै गाउँपालिकाले आर्थिक विकासतर्फ ४ करोड ४० लाख रुपैयाँ छुट्याएको छ। कृषि तथा पशुपालनमार्फत युवालाई स्वरोजगार बनाउने, उत्पादनमा आधारित अनुदान, कृषि एम्बुलेन्स, किसान एप, मौरीपालन प्रवद्र्धन तथा सामुदायिक बीउ बैंक स्थापना जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। कृषि क्षेत्रमा मात्रै २ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।
पर्यटन क्षेत्रतर्फ रूपा ताल आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन, रोयल ट्रेकको स्तरोन्नति, धार्मिक पर्यटन विकास, होमस्टे प्रवद्र्धन तथा वडा नम्बर ६ को भंगारामा झरना निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ।
सामाजिक विकासतर्फ १९ करोड ४३ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा ३ करोड ४३ लाख रुपैयाँ खर्च गरिनेछ। निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर परीक्षण, एम्बुलेन्स सेवा, स्वास्थ्य बीमा अनुदान तथा क्षयरोग नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
शिक्षा क्षेत्रका लागि १५ करोड २४ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक क्षमता विकास, प्राविधिक शिक्षा, छात्रवृत्ति तथा स्थानीय पाठ्यक्रम कार्यान्वयनका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
पूर्वाधार विकासतर्फ ११ करोड १८ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ। शिवचण्डी मोटरबाटो कालोपत्रे गर्न २ करोड, स्याक्लुङकोट–रामकोट–काउनेपोखरी–राम्दी सडकका लागि २ करोड १० लाख, फेदी–राम्दी–माउडाँडा–फैचोक सडकका लागि १ करोड ४० लाख तथा धारापानी–निबुवास्वारा–पोल्याङ सडकका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका प्रशासकीय भवनको फिनिसिङ र पूर्वाधार विकासका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।
यस्तै, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, वन संरक्षण, खानेपानी, सहकारी सुदृढीकरण, युवा तथा खेलकुद, न्यायिक समितिको क्षमता विकास र सुशासन प्रवद्र्धनका कार्यक्रमलाई समेत बजेटले समेटेको छ।
बजेटले स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन तथा गुणस्तरीय सेवा प्रवाहमार्फत समृद्ध रूपा निर्माणको अभियानलाई थप गति दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले बताउनुभयो ।
