हिमाली आवाज । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि रु ४० करोड १६ हजार चार सय बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ‘समृद्ध फेदीखोला, सुखी फेदीखोलावासी’ को दीर्घकालीन सोचलाई केन्द्रमा राख्दै पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो।
गाउँपालिकाकी उपाध्यक्ष देउकुमारी गुरुङले १८ औँ गाउँसभामा प्रस्तुत गरेको बजेटमा ग्रामीण सडक स्तरोन्नति, १५ शय्याको अस्पताल निर्माण, व्यावसायिक कृषि तथा मौरीपालन प्रवद्र्धन, डिजिटल शासन प्रणाली र फोहोरमैला व्यवस्थापनलाई विशेष महत्व दिइएको छ।
बजेटमध्ये सामाजिक विकासतर्फ १८ करोड ८४ लाख ४० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ४३ लाख ९८ हजार रुपैयाँ, आर्थिक विकासतर्फ १ करोड ९३ लाख ४४ हजार रुपैयाँ, सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १ करोड ३४ लाख ५२ हजार रुपैयाँ तथा वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधारतर्फ खड्केटारी–बाँगे–पञ्चासे–दोबल्ला सडक स्तरोन्नतिका लागि २ करोड ६४ लाख रुपैयाँ, फेदीखोला–कालाभैरव–नुवाकोट सडकका लागि १ करोड रुपैयाँ तथा कुभिण्डे–मट्टिखान–नुवाकोट सडकका लागि १ करोड २० लाख रुपैयाँ छुट्याइएको छ। गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माणलाई निरन्तरता दिन ८५ लाख रुपैयाँ विनियोजन गरेको छ।
कृषि तथा पशु विकास क्षेत्रलाई उत्पादनमुखी बनाउने लक्ष्यसहित व्यावसायिक मौरीपालन र कफी खेती प्रवद्र्धनका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, कृषक पाठशाला तथा कृषि एम्बुलेन्स सञ्चालनका लागि थप १९ लाख रुपैयाँ छुट्याइएको छ।
बाँझो जमिन उपयोग, मकै बीउ उत्पादन तथा रैथाने बाली संरक्षण कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।
शिक्षातर्फ १३ करोड ५४ लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन गर्दै विद्यालयमा सूचना प्रविधि व्यवस्थापन, शिक्षक क्षमता विकास, अभिभावक शिक्षा, स्थानीय पाठ्यपुस्तक परिमार्जन र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिइएको छ।
स्वास्थ्य क्षेत्रमा ३ करोड ४१ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले निःशुल्क औषधि वितरण, स्वास्थ्य बीमा, सुत्केरी पोषण कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार, मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई निःशुल्क औषधि र ग्रामीण अल्ट्रासाउण्ड सेवालाई निरन्तरता दिएको छ।
फेदीखोलाले आगामी वर्ष डिजिटल सुशासनलाई पनि प्राथमिकतामा राखेको छ। शिक्षा, स्वास्थ्य र कृषिलगायतका क्षेत्रलाई एकीकृत सूचना प्रणालीमा आबद्ध गर्दै ‘पेपरलेस गभर्नेन्स’ लागू गर्ने, “फेदीखोला हिजो र आज” पुस्तक तथा भिडियो डकुमेन्ट्री निर्माण गर्ने र घरदैलोमै सेवा पु¥याउन एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना बजेटमा समेटिएको छ।
यस्तै, फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन फेदीखोला फोहोरमैला संकलन केन्द्रका लागि मेसिन तथा उपकरण खरिद गर्न ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले आगामी वर्षभित्र मालपोत तथा भूमिकर बुझाउने र व्यवसाय नवीकरण गर्ने करदातालाई १० प्रतिशत कर छुट दिने घोषणा पनि गरेको छ । बजेट अघि गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरलले प्रस्तुत बजेटको कार्यान्वयनबाट कृषिको व्यावसायिकरण, दिगो पूर्वाधार निर्माण र सुशासन कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
