हिमाली आवाज । काठमाडौंमा सञ्चालन हुने राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडीहरूको टोलीलाई बुधबार पोखराबाट विदाई गरिएको छ ।
पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश बक्सिङ सङ्घका अध्यक्ष विद्या मर्सानी, पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ तथा प्रदेश खेलकुद परिषद्का सदस्य इन्द्रा मल्ल लगायतले खेलाडी तथा प्रशिक्षकहरूलाई सफलताको शुभकामना दिँदै विदाई गर्नु भएको हो ।
गण्डकी प्रदेशका प्रशिक्षक लोकबहादुर गुरुङको नेतृत्वमा टोली बुधबारनै काठमाडौं प्रस्थान गरेको छ । प्रतियोगितामा पुरुषतर्फ पाँच तथा महिलातर्फ तीन तौल समूहमा गरी ९ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बक्सिङ सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीबीच प्रतिस्पर्धा हुने छ । विदाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपेन्द्र मर्यानीले गण्डकी प्रदेशको गौरव बढाउने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले स्वर्ण पदक विजेतालाई जनही १५ हजार रुपैयाँ, रजत पदक विजेतालाई १० हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिने बताउनुभयो ।
टोलीमा राष्ट्रिय खेलाडी किरण बिके समेत सहभागी हुनुहुन्छ । विगत नौ वर्षदेखि बक्सिङ खेलमा सक्रिय बिकेले २०८०÷८१ मा चितवनमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक प्राप्त गर्नुभएको थियो । उहाँले विभिन्न राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ ।
महिलातर्फ अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेकी ६० केजी तौल समूहकी निशिका गुरुङसहित देविका गुरुङ र जोशिका श्रेष्ठ टोलीमा सहभागी हुनुहुन्छ । पुरुषतर्फ राजेश पाण्डे, साहिल लिम्बु,, निशान गुरुङ, अमिश थापा, किरण बिके र सौगात गुरुङले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्् । टोलीको सहायक प्रशिक्षकमा अपिल क्षत्री रहनु भएको छ । गण्डकी प्रदेश बक्सिङ सङ्घले प्रतियोगितामा प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरेको छ ।
