सुरक्षित वैदेशिक रोजगारीका लागि कानुनी सचेतना र जिम्मेवार सूचना प्रवाहमा जोड

हिमाली आवाज । सुरक्षित वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउन स्थानीय तहका न्यायिक समिति, मेलमिलापकर्ता तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन्।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले पोखरामा आज आयोजना गरेको न्यायिक समिति, मेलमिलापकर्ता तथा सञ्चारकर्मीसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया’ कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारसँग सम्बन्धित विवाद समाधान, कानुनी सचेतना र तथ्यपरक सूचना प्रवाहमा जोड दिएका हुन्।

सामी कार्यक्रमका जिल्ला संयोजक आदिम ध्वज श्रेष्ठका अनुसार सुरक्षित वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था, नीति तथा प्रक्रियाबारे जानकारी गराउने, वैदेशिक रोजगारसँग सम्बन्धित विवाद तथा समस्याको प्रभावकारी व्यवस्थापनमा सहयोग पु¥याउने, सञ्चारमाध्यममार्फत तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषणलाई प्रवद्र्धन गर्ने तथा ठगी, शोषण र मानव बेचबिखन न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सामी कार्यक्रमकी गण्डकी प्रदेश व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि श्रमिकहरूले अझै अनेक चुनौती र जोखिमको सामना गरिरहेको बताउनुभयो। गन्तव्य मुलुकमा श्रमिकहरूले श्रम शोषण, ठगी तथा विभिन्न कानुनी समस्याहरू भोग्नुपरेको उल्लेख गर्दै उहाँले सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न व्यापक जनचेतना, कानुनी जानकारी र वित्तीय साक्षरताको आवश्यकता औँल्याउनुभयो।

उहाँले विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको प्रमुख स्रोत भए पनि वैदेशिक रोजगारीलाई पूर्ण रूपमा सुरक्षित बनाउन नसकिएको बताउनुभयो। श्रमिकमाथिको ठगी मात्र नभई मृत्यु भएका श्रमिकका शव स्वदेश ल्याउने प्रक्रियासमेत अनेक समस्या र अनियमितताले प्रभावित हुने गरेको उल्लेख गर्दै उहाँले समुदाय तहदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो।

अभिमुखीकरणमा सामी कार्यक्रमका जिल्ला संयोजक श्रेष्ठले पोखरा महानगरपालिका र कास्की जिल्लामा सञ्चालित सामी कार्यक्रमका गतिविधि तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी नीतिगत प्राथमिकताबारे जानकारी गराउनुभयो।

हेल्भेटास नेपालकी कार्यक्रम अधिकृत रोजलिन  सिंहले वैदेशिक रोजगारीको वर्तमान अवस्था, त्यससँग सम्बन्धित चुनौती तथा सुरक्षित आप्रवासन प्रवद्र्धनमा स्थानीय तहका न्यायिक समिति र मेलमिलापकर्ताको भूमिकाबारे प्रस्तुति दिनुभयो। उहाँले वैदेशिक रोजगारसँग सम्बन्धित विवादहरू स्थानीय तहमै मेलमिलाप र कानुनी परामर्शमार्फत समाधान गर्न सकिने भएकाले सम्बन्धित निकायको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो।

नगर प्रमुखका प्रेस संयोजक भीम थापाले वैदेशिक रोजगारका विषयमा समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलता, पीडितको गोपनीयता, समाचारको भाषा, शीर्षकले पार्ने प्रभाव तथा पत्रकारिताको आचारसंहिताबारे सहजीकरण गर्नुभयो। उहाँले तथ्यमा आधारित, जिम्मेवार र मानवअधिकारमैत्री पत्रकारिताले सुरक्षित वैदेशिक रोजगारीको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

पोखरा महानगरपालिकाका न्यायिक समितिका सदस्य रजनी परियार र कालिदास पोख्रेलले वैदेशिक रोजगारीसँग सम्बन्धित सामाजिक विवादहरूको शान्तिपूर्ण समाधानमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। स्थानीय तहका संरचनालाई प्रभावकारी रूपमा परिचालन गर्न सके पीडितले छिटो न्याय र आवश्यक परामर्श पाउने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो।

कालिदास पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकामा सूचीकृत मेलमिलापकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन मनोसामाजिक परामर्शकर्ता प्रभा आचार्यले गर्नुभएको थियो।

Comments
Loading...