माछापुच्छ्रेमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहबारे अन्तरक्रिया

हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको समन्वय एवं सहजीकरणमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध दुरुपयोग नियन्त्रण तथा प्रभावकारी सेवा प्रवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले लागूऔषध दुरुपयोग, सामाजिक विकृति र अपराध नियन्त्रणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जिल्लामा शान्ति सुरक्षा कायम गर्नुका साथै नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको बताउनुभयोे । “नागरिकका गुनासा र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै कानुनको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको साथ आवश्यक छ । ” प्रजिअ गुरुङले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले लागूऔषध दुव्र्यसन, साइबर अपराध, घरेलु हिंसा तथा अन्य सामाजिक अपराध नियन्त्रणका लागि समुदायको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले विशेषगरी युवालाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक, विद्यालय, स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाबारे जानकारी दिँदै नागरिकलाई सहज, छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्न प्रशासन निरन्तर लागिरहेको बताउनुभयो ।

अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष सीता अधिकारी वडा अध्यक्षहरू गणेश आचार्य, मधुसुदन अधिकारी, इन्द्र गुरुङ, नारायण पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माछापुच्छ्रे गाउँपालिका सभापति भुपेन्द्र कुँबर लगायतले स्थानीय तहमा देखिएका शान्ति सुरक्षा, सडक, विकास निर्माण, सेवा प्रवाह तथा लागूऔषध दुरुपयोगसँग सम्बन्धित विभिन्न समस्याबारे धारणा राख्नुभएको थियो । वडाध्यक्षहरुले नागरिकलाई नागरिकता प्राप्त गर्न अझ सहज व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएका थिए। नागरिकता वितरण प्रक्रियालाई थप सरल, पहुँचयोग्य र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्नुपर्ने माग पनि उनीहरूले राखेका थिए।

कार्यक्रममा सहभागीहरूले यस्ता अन्तरक्रियाले स्थानीय समस्या पहिचान गर्न, प्रशासन र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्न तथा शान्ति सुरक्षा र सुशासनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । जिल्ला प्रशासन कार्यालय कास्कीले आगामी दिनमा पनि जिल्लाका अन्य स्थानीय तहमा यस्ता सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सो कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गर्नुभएको थियो ।

Comments
Loading...