
♦ वेलबहादुर विश्वकर्मा
नेपालको प्राकृतिक सम्पदाले संसारभर परिचय बनाइरहेको बेला कास्की जिल्लाको मादी गाउँपालिका–७, नयाँ गाउँ मा अवस्थित ‘सोझो कुनाको झरना’ भने अझै पनि पर्याप्त प्रचार प्रसारको अभावमा ओझेलमै छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक किंवदन्ती र भूगर्भीय रहस्यलाई एकै स्थानमा समेटेको यो क्षेत्र उचित संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको अनुपम गन्तव्य हो।
पोखरा महानगरपालिका–१३ काहुँखोलाबाट मादी गाउँपालिकाको उत्तरतर्फ सिक्लेस जाने सडक हुँदै मेलबोट चोक पुगिन्छ। त्यहाँबाट मध्यपहाडी लोकमार्ग हुँदै नयाँ गाउँतर्फ करिब तीन किलोमिटर यात्रा गरेपछि गोरेटो बाटोबाट सहजै सोझो कुनाको झरनासम्म पुग्न सकिन्छ। सडकको पहुँच विस्तारसँगै यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बिस्तारै बढ्न थालेको स्थानीयवासीहरू बताउँछन्।
घना वनको काखमा अवस्थित यो झरना केवल मनोरम दृश्यको स्रोत मात्र होइन, स्थानीय समाजको आस्था र विश्वासको केन्द्र पनि हो। झरनाको आसपास रहेको विशाल ओढारलाई दैवी शक्तिको वासस्थान मानिन्छ। पुस्तौंदेखि सुनिँदै आएको किंवदन्तीअनुसार वर्षौंदेखि वर्षा नपरेर खडेरी परेको समयमा स्थानीय धामी–झाँक्रीहरूले यही स्थानमा विशेष पूजा गरी पानीको कामना गर्दा सोही दिन साँझ वर्षा हुने गरेको विश्वास आज पनि जीवित छ। यही कारण यो स्थानलाई स्थानीय समुदायले अत्यन्त पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्दै आएका छन्।
स्थानीय बुढापाकाहरूका अनुसार प्राचीन समयमा ऋषिमुनिहरूले यही क्षेत्रमा तपस्या र बसोबास गरेका थिए। त्यसैले यो क्षेत्र प्राकृतिक सम्पदासँगै धार्मिक र सांस्कृतिक इतिहास बोकेको स्थलका रूपमा समेत परिचित छ।

झरनाको अर्को विशेषता यसको अद्भुत प्राकृतिक बनोट हो। वरिपरि रहेका चुनढुंगाले समयसँगै निर्माण गरेका अनौठा आकृतिहरूले आगन्तुकलाई सहजै मोहित बनाउँछन्। खोला पारिपट्टि देखिने परापूर्वकालमा प्रयोग गरिने ढिकी, जाँतो तथा गाईको थुनबाट पानी चुहिएजस्तो देखिने प्राकृतिक ढुंगाका आकृतिहरू यहाँका दुर्लभ दृश्य मानिन्छन्। प्रकृतिले आफैं कुँदेजस्ता यी आकृतिहरूले भूगर्भीय अध्ययनका दृष्टिले समेत विशेष महत्व राख्ने देखिन्छ।
अझ रोचक पक्ष के छ भने झरनाको भित्र ढुंगाको चेपबाट निरन्तर तातो पानी बगिरहन्छ। चिसो झरनाको बीचमा तातो पानीको प्राकृतिक स्रोत देख्न पाइने यो अनौठो दृश्यले यहाँ आउने अधिकांश पर्यटकलाई आश्चर्यचकित बनाउने गरेको छ। यसबारे वैज्ञानिक अध्ययन हुन सके यसको वास्तविक कारण र महत्व अझ स्पष्ट हुन सक्ने जानकारहरू बताउँछन्।
सोझो कुनाको झरना धार्मिक पर्वहरूसँग पनि गहिरो रूपमा जोडिएको छ। हरेक वर्ष माघे सङ्क्रान्तिका दिन स्थानीयवासीहरू यहाँ भेला भई विशेष पूजाआराधना गर्छन। पवित्र स्नान गर्ने, तरुल, चिउरा, फलफूल तथा अन्य प्रसाद चढाउने परम्परा पुस्तौंदेखि निरन्तर चल्दै आएको छ। यस अवसरमा गाउँभरि धार्मिक उत्साह छाउने र टाढाटाढाबाट समेत श्रद्धालुहरू आउने गरेका छन्।
प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्र चारैतिर हरियाली वन, चिसो हावा र शान्त वातावरणले घेरिएको छ। झरनाको आसपास रहेका गाउँहरूमा पुग्ने पर्यटकले स्थानीय उत्पादनको स्वाद पनि लिन सक्छन्। ताजा मह, दूध, घिउ, मौसमी फलफूल तथा गाउँघरका परम्परागत परिकार यहाँ सहज रूपमा उपलब्ध हुने भएकाले ग्रामीण पर्यटनको उत्कृष्ट अनुभव लिन सकिन्छ। स्थानीयको आत्मीय आतिथ्यले आगन्तुकलाई थप आकर्षित गर्ने गरेको छ।
यति धेरै प्राकृतिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको सोझो कुनाको झरना अझै पनि रा पर्यटनहरुको मुख्य गन्तव्यमा पर्न सकेको छैन। सम्बन्धित निकायले आवश्यक पूर्वाधार निर्माण, संरक्षण, वैज्ञानिक अध्ययन र प्रभावकारी प्रचारप्रसारमा ध्यान दिन सके यो स्थल कास्की जिल्लाको मात्र होइन, गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने पर्याप्त सम्भावना छ।
प्रकृतिले उदारतापूर्वक दिएको यो अनुपम उपहारलाई संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउनु स्थानीय समुदाय, सरोकारवाला निकाय र राज्य सबैको साझा दायित्व हो। समयमै यसको महत्व पहिचान गर्न सकिए, सोझो कुनाको झरना नेपालको पर्यटन नक्सामा नयाँ पहिचान बनाउने अर्को गौरवपूर्ण गन्तव्य बन्नेमा दुईमत छैन।
