भत्ता नवीकरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, पोखरा–१२ का ज्येष्ठ नागरिक लाभान्वित

हिमाली आवाज । पोखरा महानगरपालिका–१२ ले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ।

वडा कार्यालयले भत्ता नवीकरण प्रक्रियासँगै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले रक्तचाप (प्रेसर), रगतमा चिनीको मात्रा (सुगर) तथा तौल परीक्षण निःशुल्क उपलब्ध गराएको हो।

वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार एउटै स्थानबाट भत्ता नवीकरण र स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न पाएकाले सेवाग्राहीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। उहाँले यस कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन र आवश्यक स्वास्थ्य सेवामा पहुँच सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

वडा सचिव शारदा सापकोटाले वडा कार्यालय परिसरमा सञ्चालन भइरहेको यस सेवाबाट सयौँ ज्येष्ठ नागरिक लाभान्वित हुने अपेक्षा गरिएको बताउनुभयाे ।  स्वास्थ्य स्वयंसेविका तथा शहरी स्वास्थ्य केन्द्रको समन्वयमा सञ्चालन भइरहेको सेवा साउन महिनाभर सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रमसँगै निरन्तर सञ्चालन हुनेछ ।

शहरी स्वास्थ्य केन्द्र प्रमुख सृजना थापाले यस्ता साना तर प्रभावकारी कार्यक्रमले समुदायमा जनस्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै ज्येष्ठ नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयाे ।  समयमै गरिएको स्वास्थ्य परीक्षणले उच्च रक्तचाप र मधुमेहजस्ता दीर्घरोगको पहिचान तथा व्यवस्थापनमा समेत महत्वपूर्ण सहयोग पुग्ने भनाइ उहाँकाे छ ।

Comments
Loading...