हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थानमा स्वीकृतिबिना कार्यक्रम आयोजना गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सार्वजनिक स्थलमा राजनीतिक, धार्मिक, सांस्कृतिक तथा अन्य प्रकृतिका कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने बताउनुभयो ।
पछिल्लो समय देशका विभिन्न स्थानमा राजनीतिक विचारधारा, धार्मिक तथा सांस्कृतिक गतिविधिका नाममा पूर्वस्वीकृति बिना सार्वजनिक स्थलमा कार्यक्रम आयोजना गर्ने, भ्रामक सूचना फैलाउने तथा सामाजिक सद्भावमा असर पर्ने गतिविधि हुने क्रम बढिरहेकोप्रति प्रशासन गम्भीर रहेको बताउनुभयो ।
नेपालको संविधानले नागरिकलाई शान्तिपूर्वक भेला हुन पाउने अधिकार सुनिश्चित गरे पनि सार्वजनिक प्रदर्शन, ¥याली, सभा तथा यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनको पूर्वस्वीकृति लिनु अनिवार्य व्यवस्था गरिएको बरालले बताउनुभयो ।
सूचनाको बेवास्ता गरी स्वीकृति बिना कार्यक्रम सञ्चालन गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । प्रशासनले सार्वजनिक स्थलमा शान्ति, सुरक्षा, सामाजिक सद्भाव तथा सुव्यवस्था कायम राख्न सबै पक्षको सहयोगको अपेक्षा गरेको छ ।
