पहिराले अवरुद्ध काहुँखोला–सिक्लेस सडक तीन दिनपछि खुल्यो

हिमाली आवाज । केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन् ।

पहिराले नयाँपुल–घान्द्रुक सडक खण्ड अवरुद्ध बनेको छ । यस सडक खण्ड अन्तर्गत अन्नपूर्ण–१० मा यही साउन २१ गते राति सिवौँ खोलाले सडक बगाउँदा घान्द्रुकसँगको सिधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो ।

यसैगरी कास्कीको अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका–१ सिक्लेस जाने सडक भने तीन दिनपछि सञ्चालनमा आएको छ ।

साउन २० गते राति काहुँखोला–सिक्लेस सडक खण्डमा पर्ने खिलाङ र चिप्लीको बीचमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध भएकामा आज साँझ देखी बाटो सुचारु भएको मादी–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवीजङ्ग गुरुङले जानकारी दिनुभयो ।

“जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय पोखरासँगको समन्वयमा दुई दिनको प्रयासपछि सडक खुलेको छ ।” वडाध्यक्ष गुरुङले भन्नुभयो ।

सडक डिभिजन कार्यालयले पोखराको काहुँखोलादेखी सिक्लेसम्म अहिले सडक स्तरोन्नतिको काम समेत गर्दै आएको छ । सडक पहिराले अवरुद्ध भएपछि स्थानीयवासी र पर्यटक समस्यामा परेका थिए ।

सिक्लेस ग्रामिण पर्यटनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छ । बर्खायामका कारणले सिक्लेसमा हाल पर्यटक आगमन कम रहेपनि सार्वजनिक विदामा भने आन्तरिक पर्यटक उल्लेख्य पुग्ने गरेका छन् ।

Comments
Loading...