हिमाली आवाज । टीभीएस मोटर कम्पनीले नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर पोखरामा सार्वजनिक गरेको छ। स्मार्ट प्रविधि, लामो दूरीको यात्रा, आराम र उपयोगितालाई प्राथमिकता दिइएको अर्बिटरलाई कम्पनीले दैनिक सहरी यात्राका लागि उपयुक्त विद्युतीय स्कुटरका रूपमा बजारमा ल्याएको हो।
नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिको सञ्जालमार्फत सार्वजनिक गरिएको अर्बिटरमा ३.१ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार स्कुटरले एकपटक पूर्ण रूपमा चार्ज गरेपछि १५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ।

अर्बिटरको प्रमुख विशेषतामध्ये १४ इन्चको अगाडिको पाङ्ग्रा रहेको छ। कम्पनीले यसलाई आफ्नो श्रेणीमा पहिलो भएको दाबी गरेको छ। ठूलो अगाडिको पाङ्ग्राले सडकमा स्कुटरको स्थिरता, नियन्त्रण र सहज यात्रा बढाउने कम्पनीको भनाइ छ।
नेपालका विभिन्न सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर स्कुटरको व्यापक परीक्षण गरिएको कम्पनीले जनाएको छ। १६९ मिलिमिटरको भुइँदेखि स्कुटरसम्मको उचाइ, उकालोमा रोकिएर पुनः अघि बढ्न सहयोग गर्ने प्रणाली, यात्राको गति कायम राख्ने सुविधा तथा पार्किङ सहयोगी प्रणालीले दैनिक यात्रा थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
३४ लिटरको सामान राख्ने ठाउँ
टीभीएस अर्बिटरमा ३४ लिटर क्षमताको सिटमुनिको सामान राख्ने स्थान रहेको छ। यसमा दुईवटा हेल्मेटसमेत राख्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, ८४५ मिलिमिटर लामो समथर सिट र २९० मिलिमिटर लामो समथर खुट्टा राख्ने भाग भएकाले चालक तथा पछाडि बस्ने यात्रुलाई पर्याप्त ठाउँ र आराम मिल्ने कम्पनीको दाबी छ।
आधुनिक तथा आकर्षक स्वरूप दिइएको अर्बिटरमा अगाडि एलईडी बत्ती, डिजिटल सूचना पटल, मोबाइल चार्ज गर्ने सुविधा र कल तथा सन्देशसम्बन्धी सूचना देखाउने प्रणाली राखिएको छ।
मोबाइलबाटै स्कुटरको जानकारी लिन सकिने
अर्बिटरमा मोबाइलसँग जोडिने सुविधा पनि उपलब्ध छ। मोबाइल एपमार्फत टाढैबाट ब्याट्रीको चार्ज अवस्था र स्कुटरले तय गरेको दूरी हेर्न सकिने कम्पनीले जनाएको छ।
यसमा बाटो देखाउने प्रणाली, कल तथा सन्देशको सूचना, व्यक्तिगत सूचना, सफ्टवेयर अद्यावधिकलगायतका सुविधा पनि छन्।
सुरक्षाका दृष्टिले दुर्घटना वा स्कुटर ढलेको अवस्थामा सूचना दिने, चोरी तथा जबर्जस्ती तानिएको अवस्थामा जानकारी दिने, निश्चित क्षेत्रभन्दा बाहिर गएमा सूचना दिने तथा स्कुटरको स्थान पत्ता लगाउने सुविधा पनि समावेश गरिएको छ।
अर्बिटरमा इको र पावर गरी दुईवटा सञ्चालन विधि छन्। ब्याट्रीको ऊर्जा बचत गर्न सहयोग गर्ने पुनःऊर्जा सञ्चय प्रणाली पनि यसमा रहेको कम्पनीले जनाएको छ।
‘नेपाली सडक र ग्राहकको आवश्यकतालाई ध्यानमा राखिएको छ’
पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा स्क्वायर मोटर्सका अध्यक्ष तथा टीभीएसका आधिकारिक विक्रेता आदर्शमान श्रेष्ठले टीभीएस आईक्युबको सफलतापछि अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा कम्पनीको उपस्थिति थप बलियो बनाउने विश्वास व्यक्त गरे।
उनले ग्राहकलाई सहज खरिद तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन देशभरको बिक्री तथा सेवा सञ्जाललाई प्रभावकारी बनाइएको बताए।
जगदम्बा मोटर्सका राष्ट्रिय बिक्री प्रमुख सुशान्त आचार्यले नेपाली ग्राहकको आवश्यकता र आकांक्षालाई ध्यानमा राखेर अर्बिटर तयार गरिएको बताए।
उनका अनुसार युवा पुस्तालाई आकर्षित गर्ने स्वरूपसँगै प्रविधि, गुणस्तर, आराम, उपयोगिता र कार्यक्षमताको संयोजन अर्बिटरमा गरिएको छ।
“नेपालका विभिन्न सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर यसको व्यापक परीक्षण गरिएको छ,” उनले भने, “यसले निरन्तर कार्यसम्पादन र विश्वसनीयता प्रदान गर्ने क्षमता राख्छ।”
तीन रङमा उपलब्ध
टीभीएस अर्बिटर नेपालमा नियोन सनबर्स्ट, कस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ।स्कुटरको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
टीभीएस मोटर कम्पनीले आईक्युबपछि अर्बिटरलाई नेपालमा विद्युतीय सवारीको बजार विस्तार गर्ने आफ्नो अर्को महत्वपूर्ण उत्पादनका रूपमा अघि सारेको छ। अर्बिटरको आगमनसँगै नेपाली विद्युतीय स्कुटर बजारमा प्रतिस्पर्धा थप बढ्ने अपेक्षा गरिएको छ।
