घाचोकको गिद्ध संरक्षण केन्द्रमा पुगे प्राणीशास्त्रका विद्यार्थी, जैविक विविधता जोगाउन चासो

हिमाली आवाज । पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका गतिविधिमा सक्रिय भएका छन् ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–३, घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण केन्द्रमा पुगेर विद्यार्थीहरूले गिद्धको आहार व्यवस्थापन (फिडिङ) प्रत्यक्ष अवलोकन गर्नुका साथै संरक्षण क्षेत्रमा सरसफाइ र वातावरणीय व्यवस्थापनका विभिन्न गतिविधिमा स्वयंसेवकका रूपमा सहभागिता जनाएका हुन् ।

पृथ्वीनारायण क्याम्पसका ४० भन्दा बढी विद्यार्थी, स्थानीयवासी तथा संरक्षणकर्मीको सहभागितामा गिद्ध संरक्षण, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरूले मरेका जनावरका हड्डी संकलन तथा व्यवस्थापन, झाडी सफाइ, वनस्पतिको पहिचानका लागि ‘नेम प्लेट’ राख्ने तथा संरक्षण क्षेत्रको वातावरणीय व्यवस्थापन लगायतका काममा प्रत्यक्ष सहभागिता जनाए ।

विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै प्रत्यक्ष रूपमा संरक्षणका गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा गिद्ध संरक्षणको महत्व, वनस्पति संरक्षण, जैविक विविधता र वातावरण संरक्षणका विषयमा विज्ञ तथा संरक्षण क्षेत्रमा क्रियाशील व्यक्तिहरूले विद्यार्थीलाई जानकारी दिएका थिए ।

जटायु संरक्षण केन्द्रका सचिव मनिष पोखरेलले पुस्तकमा पढेर मात्र संरक्षणको वास्तविक महत्व बुझ्न नसकिने भएकाले विद्यार्थीलाई प्रत्यक्ष रूपमा प्रकृति र संरक्षणको अभ्याससँग जोड्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

“प्राणीशास्त्र र वनस्पतिशास्त्रका विद्यार्थी यहाँ सहभागी हुनुभएको छ। उहाँहरूले गिद्धको फिडिङ प्रत्यक्ष रूपमा हेर्नुभयो, संरक्षण क्षेत्रमा सरसफाइ गर्नुभयो र वनस्पतिका नेम प्लेट राख्नुभयो । यस्ता व्यावहारिक गतिविधिले विद्यार्थीमा संरक्षणप्रतिको चासो र जिम्मेवारीबोध बढाउन महत्वपूर्ण भूमिका खेल्छ।” पोखरेलले भन्नुभयो ।

बोटानिकल स्टुडेन्ट्स सोसाइटी पृथ्वीनारायण क्याम्पसकी अध्यक्ष कविता त्रिपाठीले एकदिनको स्वयंसेवी कार्यक्रम नयाँ, रमाइलो र सिकाइपूर्ण अनुभव बनेको बताउनुभयो।
“गिद्धलाई नजिकबाट अवलोकन गर्दै यसको संरक्षण, वातावरणमा यसको भूमिका र जैविक विविधता जोगाउन यसको महत्वबारे बुझ्न पाउनु विशेष अनुभव रह्यो । ” उहाँले भन्नुभयो।
त्रिपाठीका अनुसार कार्यक्रममा विद्यार्थीले विभिन्न वनस्पतिलाई प्रत्यक्ष रूपमा फिल्डमा अवलोकन गरी पहिचान गर्नुका साथै वनस्पतिको वैज्ञानिक तथा स्थानीय नामसहित ट्यागिङ र अभिलेखीकरण गरेका थिए ।

घाचोकमा सञ्चालित जटायु संरक्षण केन्द्रले लामो समयदेखि गिद्ध संरक्षणसँगै स्थानीय समुदायमा जैविक विविधता तथा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्दै आएको छ।

केन्द्रमा गिद्धका लागि सुरक्षित र विषरहित आहारको व्यवस्था गरी संरक्षणको प्रयास भइरहेको छ । प्राकृतिक रूपमा मरेका जनावरको शरीर खाएर वातावरण सफा राख्ने भएकाले गिद्धलाई प्रकृतिको महत्वपूर्ण ‘सफाइकर्मी’का रूपमा लिइन्छ । पारिस्थितिक प्रणाली सन्तुलन कायम राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहेको संरक्षणकर्मीहरू बताउँछन् ।

कार्यक्रमका क्रममा गिद्धको नजिकबाट अवलोकन गर्दै यसको संरक्षण, वातावरणीय सन्तुलनमा भूमिका तथा जैविक विविधता संरक्षणमा यसको महत्वबारे समेत विद्यार्थीले जानकारी लिएका थिए ।

Comments
Loading...