गण्डकी खेलकुद पदकको छानविनका लागि मन्त्रालयले बनायो समिति

हिमाली आवाज । गण्डकी प्रदेश खेलकुद परिषद्ले गत असार ३० गते प्रदान गरेको ‘प्रदेश खेलकुद पदक’ विवादित बनेको छ ।
परिषद्ले पहिलोपटक वितरण गरेको उक्त पदक वितरण प्रक्रिया, छनोट तथा सिफारिस, कार्यविधिको कार्यान्वयन तथा सिफारिस समितिमा बसेका व्यक्तिलेनै पदक लिएको लगायतका विषय सार्वजनिक भएपछि खेलाडी, खेलकुदकर्मी तथा सञ्चारकर्मीले प्रश्न उठाएका छन् ।

खेलकुदले अनुशासन, निष्पक्षता, इमानदारी र नैतिकताको अभ्यास सिकाउने भए पनि त्यही मूल्य संरक्षण गर्ने जिम्मेवारीमा रहेका व्यक्तिबाटै विधि र प्रक्रियाको उल्लङ्घन गरिएको भन्दै आलोचना भएपछि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले पदकको छानविनका लागि आज तीन सदस्सीय टोली गठन गरेको हो ।

मन्त्रालयका सचिव डा शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको समितिमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला रहनुभएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले छानविन समितिलाई पाँच दिनको समय दिइएको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय लिइने बताउनुभयो ।
“पदक वितरणमा भएको अमर्यादित कार्य भन्ने लगायतका सार्वजनिक रुपमा उठेका सबै विषयमा छानबिन हुन्छ, त्यसमा मन्त्रालय प्रतिवद्ध छ । समितिलाई छिटोभन्दा छिटो निष्पक्ष छानविन गरेर प्रतिवेदन बनाउन जिम्मेवारी दिएका छौँ । ” मन्त्री गुरुङले भन्नुभयो ।

छानविन समितिका संयोजक पौडेलले पदक सिफारिस गर्दा कार्यविधि अनुसार भए, नभएको तथा पारदर्शिता लगायत सबै विषयमा छानविन गरेर तोकिएको समयसीमाभित्रमा प्रतिवेदन पेश गरिने बताउनुभयो ।

पदक सिफारिस समितिका आमन्त्रित सदस्यद्वय हरि पराजुली र चित्रबहादुर थापाले आफू आवद्ध रहेको संघलाई पदक दिन सिफारिस गरेको आरोप लागेको छ । पराजुलीले आफू निवर्तमान अध्यक्ष रहेको भूतपूर्व खेलाडी मञ्च र थापाले आफू अध्यक्ष रहेको ह्याण्डबल संघलाई पदकको सिफारिस गरेपछि पदक प्रदान गरिएको थियो ।

यसैगरी पत्रकारितातर्फको पदक सिफारिस समितिका आमन्त्रित सदस्य केशव पाठकले आफ्नै नाम सिफारिस गरेर पदक लिनुभएको थियो ।
यसैगरी परिषद्ले खेलाडीतर्फ भलिबलकी अरुणा साही, आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, अन्र्तराष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन, असिम शेरचन, क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु र संघसंस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई २०८१÷८२ को खेलकुद पदक प्रदान गरेको थियो ।

त्यसबाहेक सर्वोत्कृष्ट प्रदेश खेलबाट गण्डकी प्रदेश टेनिस संघलाई नगद रु एक लाख २० हजारसहित सम्मान गरिएको थियो भने गण्डकी प्रदेश ह्याण्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई उत्कृष्ट खेल संघ घोषणा गर्दै नगद रु ९०÷९० हजारसहित सम्मान गरिएको थियो ।

Comments
Loading...