हिमाली आवाज । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालले भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पुन : सुरु गर्न माग गरेको छ ।
लामो समयदेखी भर्ती प्रक्रिया रोकिदा रोजगारीका अवसरमा असर पर्नुका साथै दुई देशबीचको सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भन्दै संघले आज कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङलाई ज्ञापनपत्र बुझाउँदै नेपाली युवालाई भारतीय सेनामा भर्ती हुने प्रक्रिया पुनः सुरु गर्न सरकारसँग पहल गरिदिन आग्रह गर्नुभएको हो ।
ज्ञापनपत्रमा भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया लामो समयदेखि रोकिँदा ठूलो संख्यामा युवाहरु रोजगारीको अवसरबाट वञ्चित भएको उल्लेख गरिएको छ । भारत सरकारले सन् २०२२ जुनदेखि ‘अग्निपथ’ योजना सुरु गरेपछि नेपाल सरकारले विभिन्न कारण देखाउँदै नेपाली युवालाई भारतीय सेनामा भर्ती हुनबाट रोक्दै आएको ज्ञापनपत्रमा उल्लेख छ ।
‘अग्निपथ’ योजनाअन्तर्गत भारतीय सेनामा भर्ती हुन १७ वर्ष पाँच महिनादेखि २१ वर्षसम्म उमेर समूहका युवालाई अवसर दिइन्छ । चार वर्षको सेवापछि उत्कृष्ट प्रदर्शन गर्ने २५ प्रतिशत युवालाई स्थायी सैनिकका रूपमा सेवा गर्ने अवसर दिइने र बाँकी ७५ प्रतिशतलाई सम्मान सहित एकमुष्ट रकम उपलब्ध गराएर बिदाइ गर्ने व्यवस्था रहेको उल्लेख छ ।
गोर्खा ब्रिगेडले उक्त प्रक्रियाबाट नेपाली युवाले रोजगारीसँगै विभिन्न सीप र अनुभव हासिल गर्न सक्ने जनाएको छ । चार वर्षको अवधिमा प्राप्त आम्दानीको सदुपयोग गर्न सके नेपाल फर्किएपछि समेत स्वरोजगार तथा जीविकोपार्जनमा सहयोग पुग्ने ज्ञापनपत्रमा उल्लेख छ । साथै, सेवाका क्रममा मृत्यु वा घाइते भए परिवारलाई पेन्सन तथा बीमालगायतका सुविधा उपलब्ध हुने दाबी गरिएको छ ।
ज्ञापनपत्रमा भारतीय सेनामा हरेक वर्ष करिब चारदेखि पाँच हजार नेपाली युवा भर्ती हुने गरेको र त्यसमध्ये करिब २५ प्रतिशत स्थायी सैनिकका रूपमा रहने गरेको अध्यक्ष खत्रीले बताउनुभयो । यसबाट गोर्खा सैनिकको अस्तित्व कायम राख्नसमेत सहयोग पुग्ने गोर्खा ब्रिगेडको भनाइ छ । भारतीय सरकारले ‘अग्निपथ’ योजनालाई पाँच वर्षको परीक्षण अवधिका लागि अघि बढाएको र उक्त परीक्षण सन् २०२७ जुनमा सकिने उल्लेख गर्दै त्यसअघिनै नेपाली युवाको सहभागिताका लागि पहल गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा नेपाली युवाको सहभागिताबिना ‘अग्निपथ’ योजना सफल भएमा भविष्यमा भारतीय सेनामा नेपाली युवाका लागि भर्तीको अवसर सधैँका लागि बन्द हुन सक्ने आशंका व्यक्त गरिएको छ । त्यसले रोजगारीका अवसरमा असर पर्नुका साथै दुई देशबीचको सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ ।
यसैगरी पूर्वसैनिकसम्बद्ध संस्थाको नवीकरण गर्न समेत संघले माग गरेको छ । ‘सैनिक’ शब्द प्रयोग गरेको कारण नवीकरण रोकिएका भूतपूर्व सैनिक सम्बद्ध संघसंस्थाको नवीकरण प्रक्रिया अघि बढाउन समेत ज्ञापनपत्रमा माग गरिएको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार ‘सैनिक’ शब्द प्रयोग गरेका संघसंस्थाको नवीकरण रोकिँदा देशभरका भूतपूर्व सैनिकसम्बद्ध संस्थाले समस्या भोग्नुपरेको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्ता संस्थाले सरकारबाट अनुमति लिएर सञ्चालन हुँदै आएको र राजस्वसमेत बुझाउँदै आएको अवस्थामा नवीकरण रोकिँदा भूतपूर्व सैनिकहरु अपमानित र असहाय महसुस गर्न बाध्य भएको जनाइएको छ ।
