हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा गएराति आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ ।
उद्धार टोलीको समयमै परिचालन डोरी र विशेष उद्धार उपकरणबाट गरिने उद्धार ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोगबाट मन्दिरमा फसेका तीनै जनाको सकुशल उद्धार सम्भव सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
उद्धार गरिएकाहरुमा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका पूजारी ५२ वर्षीय निर्माण गिरी हुनुहुन्छ ।
पूजारी गिरी भारतीय नागरिक रहेको र उहाँ विगत पाँच वर्षदेखि उक्त मन्दिरमा कार्यरत रहेको जनाइएको छ । अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित नयाँपुल–वीरेठाँटी सडकखण्ड नजिकै मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढी पसेपछि उहाँहरु अलपत्र पर्नुभएको थियो ।
बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा मेटल पुलसमेत बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पु¥याएको थियो। खोलाको बहाव तीव्र भएपछि मन्दिरमा रहेका तीन जनाको तत्काल उद्धार आवश्यक परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको उद्धार टोली परिचालन गरिएको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।
घटनाबारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिकाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको कमान्डमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन भएको थियो। नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १६ जनाको टोलीसमेत उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।
बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डका विभिन्न स्थानमा करिव ३०० देखि ४०० मिटर सडकसमेत बगेको छ । सडक बगेपछि उक्त सडकखण्डमा यातायात आवागमन अवरुद्ध भएको छ ।
यसैगरी नयाँपुल क्षेत्रमा रहेको विद्युत् पोलसमेत बाढीले बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । बाढीका कारण सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
घटनाको विस्तृत क्षति विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम भइरहेको प्रशासनले जनाएको छ ।
