हिमाली आवाज । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माण गरिएको बहुउद्देश्यीय ‘पोखरा घर’ सञ्चालनमा आएको छ। भवनको आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभयो ।
पोखराको समग्र साहित्य, कला, सङ्गीत, संस्कृति र पर्यटकीय गतिविधिहरूलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवद्र्धन गर्ने उद्देश्य सहित पोखरा महानगरपालिकाले ड्रिम प्रोजेक्टका रुपमा पोखराघर निर्माण गरेको हो ।

घरको शुक्रवार एक समारोहका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । उक्त घरमा भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नान घर, शौचालय, घण्टाघर लगायत व्यवस्थापन गरिएको छ ।
पोखराको कला, साहित्य, संस्कृति, पर्यटन तथा नागरिक सेवासँग जोडिएको ‘पोखरा घर’मा पोखरा सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, एकीकृत सूचना केन्द्र, कोसेली घर र पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
महानगर प्रमुख आचार्यले पोखरा घरलाई ठूलो भौतिक पूर्वाधार परियोजनाभन्दा पनि पोखराको कला, साहित्य र संस्कृतिको परिचायकका रूपमा विकास गरिएको बताउनुभयो ।
“ यहाँबाट नागरिकलाई आवश्यक सेवा एउटै थलोबाट उपलब्ध गराउने उद्देश्य छ । ” उहाँले भन्नुभयो । प्रमुख आचार्यले आजभन्दा करिब ५० वर्षअघि यसका लागि जग्गा उपलब्ध गराउनुहुने तझ्या तथा रञ्जित परिवार, गण्डकी पेट्रोलियम परिवार तथा यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूप्रति आभार समेत व्यक्त गर्नुभयो ।
उपप्रमुख गुरुङले ‘पोखरा घर’ले पोखराको कला, संस्कृति र सभ्यतालाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महानगरको सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मीले पोखरा घरबाट प्राज्ञिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा घरमा रहेको कोसेली घर र एकीकृत सूचना केन्द्रबाट पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो । कोसेली घरमा पोखराका मौलिक उत्पादन बिक्रीका लागि राखिएका छन् भने पर्यटकलाई लक्षित गरी सोही भवनमा स्नानघर र शौचालयको समेत व्यवस्था गरिएको छ।
पोखरा घरलाई पोखरा हेरिटेज कम्पनीले सञ्चालन गर्ने जनाइएको छ। यस भवनमा पोखराको कला, संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने विभिन्न गतिविधि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
