माछापुच्छ्रेको शुक्ला गण्डकी माविमा तोडफोडसँगै विद्युतीय सामग्री चोरी

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ स्थित शुक्ला गण्डकी माध्यमिक विद्यालयमा बिदाको समयमा तोडफोड तथा चोरीको घटना भएको छ ।

यही साउन २९ देखि ३१ गतेबीच रातिको समयमा विद्यालयका पाँचवटा कक्षाकोठा र कम्प्युटर ल्याबमा तोडफोड भएको विद्यालयले जनाएको छ । यसबीच सासर्वजनिक बिदाका कारणले विद्यालय बिदा भएकाले सोमबार विद्यालय खुलेपछि मात्र चोरीको घटना सार्वजनिक भएको हो । चोरले विद्यालयका पाँच वटा कोठाको चावी फुटालेको छ ।

तोडफोडका क्रममा कक्षाकोठा तथा ल्याबका झ्यालका सिसा फुटाइएको, फर्निचर, बिजुलीका बत्ती तथा विभिन्न शैक्षिक सामग्रीमा क्षति पु¥याइएको छ। यस्तै, विद्यालयमा राखिएको सुझावपेटिका पूर्ण रूपमा नष्ट गरिएको र केही विद्युतीय सामग्रीसमेत चोरी भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेलले बिदाको समयमा विद्यालयमा भएको तोडफोड र चोरीको घटनाले विद्यालय परिवारलाई गम्भीर रूपमा चिन्तित बनाएको हिमाली आवाजसँग बताउनुभयो ।

“शिक्षाको पवित्र मन्दिरमा भएको यस्तो आपराधिक गतिविधि अत्यन्त दुःखद र निन्दनीय छ। घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष निवेदन दिएका छौँ । ” उहाँले भन्नुभयो।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि अनुसन्धान अघि बढाउन विद्यालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । विद्यालयले घटनाबारे कुनै सूचना वा जानकारी भए तत्काल विद्यालय प्रशासनलाई उपलब्ध गराउन अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी तथा स्थानीय समुदायसँग आग्रह गरेको छ।

विद्यालयले सार्वजनिक सम्पत्तिमा भएको क्षतिको छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग समेत गरेको छ ।

Comments
Loading...