पुम्दी–भुम्दी पर्वतीय दौडको तयारी स्वरूप ७ किमी हाइकिङ

हिमाली आवाज ।  पोखराको पुम्दी–भुम्दी क्षेत्रलाई धार्मिक, गाउँ, खेल तथा पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारीस्वरूप शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको छ।

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको करिब सात किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क (ड्यामसाइड)बाट सुरु भएको थियो। रानीवन हुँदै पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति पार गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’मा पुगेर कार्यक्रम सम्पन्न भएको हो।

हाइकिङमा सहभागी पर्यटनकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा स्थानीयले पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक तथा मानव निर्मित पर्यटकीय संरचनाको अवलोकन गरेका थिए।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार योजनाको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
“पुम्दी–भुम्दी क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा वडा निरन्तर लागिरहेको छ,” अध्यक्ष बरालले भन्नुभयो, “एडिबीको सहयोगमा पैदलमार्गसँगै विभिन्न स्थानमा प्रतीक्षालय, रेलिङलगायतका संरचना निर्माण गरिनेछ।”

ड्यामसाइडदेखि ‘८५’ क्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने दीर्घकालीन योजनाअन्तर्गत हालसम्म करिब सात किलोमिटर पदमार्ग निर्माण भइसकेको र बाँकी क्षेत्रमा काम गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। गत वर्ष पदमार्ग निर्माणका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन भए पनि संघीय सरकार चुनावी प्रक्रियामा रहेका बेला उत्पन्न प्राविधिक जटिलताका कारण बजेट खर्च हुन नसकेको उहाँको भनाइ थियो।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंकप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले विगतदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

यस्ता खेलकुद गतिविधिले स्थानीय उत्पादन, वस्तु तथा सेवाको प्रवद्र्धनसँगै ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्ने उहाँको भनाइ थियो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा वरपरका डाँडाकाँडा आफैंमा उच्च पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएकाले गाउँ पर्यटनको विकासका लागि पदयात्रा र पर्वतीय दौडजस्ता गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले आगामी दिनमा टुक्रे योजना र केवल भौतिक पूर्वाधार निर्माणभन्दा प्रत्यक्ष रूपमा पर्यटन प्रवद्र्धन गर्न सक्ने प्रभावकारी कार्यक्रमलाई प्राथमिकता दिने नीति बोर्डको रहेको बताउनुभयो।

नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले पर्वतीय दौडजस्ता खेलकुद गतिविधिले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो। पुम्दीकोट कोट विकास समितिका कोषाध्यक्ष चण्डिका बरालले पनि प्रतियोगिता तथा क्षेत्रको पर्यटन विकासका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक दिननाथ बरालले आगामी असोज १० गते शनिबार आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारीस्वरूप हाइकिङ आयोजना गरिएको बताउनुभयो।

उहाँका अनुसार प्रतियोगितामा खुलातर्फसहित विभिन्न छ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। पुम्दी–भुम्दी क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यलाई जोड्ने मुख्य दौड विश्वशान्ति स्तूपबाट सुरु भई विशाल महादेवको मूर्ति, पोखरा–२२ को वडा कार्यालय हुँदै कालाबाङ न्यालडाँडामा हालै निर्माण भएको कालाबाङ घरेडी बुद्धपार्कसम्म पुग्नेछ। मुख्य दौडको दूरी करिब आठ किलोमिटर रहने आयोजकले जनाएको छ।गत वर्षको प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएका थिए। यस वर्ष पनि स्वदेशी तथा विदेशी धावकको उल्लेख्य सहभागिता गराउने तयारी भइरहेको पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो।

केन्द्रका उपाध्यक्ष असफल गौतमले प्राकृतिक सम्पदामा मात्र निर्भर रहेर पर्यटनको दीर्घकालीन व्यवस्थापन गर्न कठिन हुने भएकाले मानव निर्मित पर्यटकीय गन्तव्यसँगै हाइकिङ र पदमार्गलाई व्यवस्थित तथा दिगो रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले पुम्दी–भुम्दी क्षेत्रलाई धार्मिक पर्यटनका अतिरिक्त गाउँ पर्यटन, पदयात्रा, खेल पर्यटन र मनोरञ्जनको वैकल्पिक गन्तव्यका रूपमा स्थापित गर्न यस्ता गतिविधिले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

हाइकिङका क्रममा सहभागीले पुम्दीकोटको ५१ फिट अग्लो विशाल महादेवको मूर्तिसँगै पछिल्लो समय सञ्चालनमा आएको ‘ड्रिम सिटी’को अवलोकन गरेका थिए।
ड्रिम सिटीका सञ्चालक युवा व्यवसायी राजु बरालका अनुसार सो परियोजनाले करिब ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। पुम्दीकोट आउने पर्यटकलाई थप केही घण्टा सो क्षेत्रमा रोक्ने वातावरण निर्माण गर्न सफल भएको उहाँको दाबी छ। विभिन्न आकर्षणको अवलोकनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ प्रवेश शुल्क लिइने गरिएको उहाँले जानकारी दिनुभयो।

पोखरा–२२ पुम्दीकोटमा करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको ड्रिम सिटीमा अम्ब्रेला पार्क, हट एयर बलुन फोटो बुथ, ग्लास स्काईवाक, पिङ, स्विङ तथा रेष्टुरेन्टलगायतका संरचना रहेका छन्। यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमशृंखला, फेवाताल, विश्वशान्ति स्तूप तथा कालाबाङ घरेडी बुद्धपार्कलगायतका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

हाइकिङ कार्यक्रमको उद्घाटन पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा–१७ का वडाध्यक्ष राधिका कुमारी शाही र गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बरालले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रमलाई सफल बनाउन ड्रिम सिटी र नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले सहयोग गरेका थिए।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटल सङ्घ पोखराका लक्ष्मण सुवेदी, पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराई, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, हाईकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाट, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर तथा ड्रिम सिटीका सञ्चालकमध्येका एक श्यामकुमार बजगाईलगायत पर्यटनकर्मी, सञ्चारकर्मी र स्थानीयको सहभागिता रहेको थियो।

Comments
Loading...