हिमाली आवाज । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मलको दोस्रो तलामा दुई नयाँ फेसन स्टोर सञ्चालनमा आएका छन्। भारतका ब्रान्डेड कुर्था–सुरुवाल तथा एथेनिक पहिरन उपलब्ध गराउने बीपी एथेनिक वेयर र चिनियाँ ब्रान्डका आधुनिक तथा फेसनेबल पहिरन बिक्री गर्ने जिजी पोखरा आइतबार एक समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको हो।
कल्पु कलेक्सन चितवनकी सञ्चालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल र समाजसेवी शान्ति गिरीले संयुक्त रूपमा रिबन काटेर दुवै पसलको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा कल्पु कलेक्सनकी सञ्चालक खड्काले पोखरा ट्रेड मलमा सञ्चालनमा आएका यी दुई नयाँ स्टोर युवती तथा महिलाका लागि आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सञ्चालकहरूलाई व्यवसायिक यात्राको शुभकामना दिँदै उच्च मनोबलका साथ गुणस्तरीय सेवा र फेसनलाई प्राथमिकता दिएर अघि बढ्न सुझाव दिनुभयो।
बीपी एथेनिक वेयरमा भारतका प्रतिष्ठित उत्पादन कम्पनीहरूसँग प्रत्यक्ष सम्पर्क गरी आयात गरिएका ब्रान्डेड तथा गुणस्तरीय कुर्था–सुरुवाल, एथेनिक वेयर तथा नयाँ डिजाइनका विभिन्न पोसाक उपलब्ध रहेको सञ्चालक विपासा पुरीले बताउनुभयो। परम्परागत पहिरनसँगै आधुनिक फेसनको संयोजन खोज्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न डिजाइन, रङ र शैलीका सामग्री भित्र्याइएको उहाँको भनाइ छ।
बजारमा गुणस्तरहीन तथा नक्कली सामानको जोखिम बढिरहेका बेला आधिकारिक स्रोतबाट आयात गरिएका ब्रान्डेड र गुणस्तरीय सामग्रीलाई प्राथमिकता दिइएको पुरीले बताउनुभयो। ग्राहकको सन्तुष्टि र सामानको गुणस्तरलाई व्यवसायको मुख्य आधार बनाइएको उहाँको भनाइ छ। तीज तथा उद्घाटन विशेषका रूपमा भदौ ७ गतेदेखि १५ गतेसम्म बीपी एथेनिक वेयरले २५ प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ।
त्यसैगरी, जिजी पोखराले विशेषगरी आधुनिक, आकर्षक, फेमिनिन, एलिगेन्ट तथा टाइमलेस फेसन मन पराउने युवती र महिलालाई लक्षित गरी विभिन्न डिजाइनका पहिरन तथा फेसन सामग्री उपलब्ध गराउने जनाएको छ। युरोपेली तथा फ्रेन्च फेसनबाट प्रेरित आधुनिक शैलीलाई नेपाली महिलाको रुचि, आवश्यकता र जीवनशैलीअनुसार प्रस्तुत गर्ने उद्देश्यले जिजी सञ्चालनमा ल्याइएको सञ्चालक जीवन पुरीले बताउनुभयो।
तीजलाई लक्षित गर्दै जिजीले चिनियाँ ब्रान्डका चर्चित तथा फेसनेबल पहिरनहरूको नयाँ कलेक्सनसमेत पोखरामा भित्र्याएको जनाएको छ। “पोखरामा महिलाहरूका लागि नयाँ शैली र गुणस्तरीय फेसनको छुट्टै गन्तव्य बनाउने हाम्रो उद्देश्य हो,” सञ्चालक पुरीले भन्नुभयो, “ग्राहकले आफूलाई मन परेको पहिरन रोज्न मात्र नभई सहज र व्यक्तिगत बुटिक सपिङको अनुभवसमेत प्राप्त गर्न सकून् भन्ने हाम्रो प्रयास छ।”
जिजीले पनि उद्घाटन विशेषअन्तर्गत ग्राहकले आफूले रोजेका सामानमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ।
