हिमाली आवाज । उच्च शिक्षाको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो उत्कृष्ट पहिचान बनाउन सफल कालिका बहुमुखी क्याम्पस, पोखरामा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । विद्यार्थीहरूबीच आत्मीयता, सहकार्य, अनुशासन, सकारात्मक संस्कार तथा शैक्षिक अभिमुखीकरण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा ३५० भन्दा बढी विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो ।
कक्षा १२ का विद्यार्थी प्रतीक्षा आलेको अध्यक्षता सम्पन्न उक्त स्वागत कार्यक्रमा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्रा. बिरञ्जी गौतमले नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा शुभकामना दिँदै जीवनमा समयको महत्व बुझेर परिस्थिति अनुसार आफूलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतका पूर्वराष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डा. ए.पी.जे. अब्दुल कलामको प्रसिद्ध भनाइ उद्धृत विगतबाट सिक्दै वर्तमानलाई सदुपयोग गर्न र भविष्यका चुनौतीका लागि आफूलाई सक्षम बनाउन विद्यार्थीलाई आग्रह गर्नुभयो ।
प्रा. गौतमले विद्यार्थी जीवनमा सही र गलत छुट्याउने क्षमता विकास गर्नुपर्ने बताउँदै क्याम्पसमा अध्ययनसँगै विभिन्न सहपाठ्यक्रमीय तथा अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएको उल्लेख गर्नुभयो । “समयलाई चिन्नुहोस्, समयअनुसार आफूलाई परिवर्तन गर्नुहोस् र असल बन्ने प्रयास गर्नुहोस्,” उहाँले भन्नुभयो । उहाँले विद्यार्थीहरूलाई अनुशासित, सकारात्मक र सफल नागरिकका रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले विद्यार्थीलाई सफल भविष्यका लागि निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रति प्रतिबद्ध हुन आग्रह गर्नुभयो । उहाँले विज्ञान संकायका विद्यार्थीहरू भविष्यमा विश्वस्तरीय वैज्ञानिक बन्ने, व्यवस्थापन संकायका विद्यार्थीहरू सक्षम अर्थविद् तथा कुशल व्यवस्थापकका रूपमा राष्ट्रका लागि उदाहरणीय बन्ने र शिक्षा संकायका विद्यार्थीहरू उत्कृष्ट शिक्षक तथा सफल शिक्षाविद्का रूपमा आफ्नो पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदीले विद्यार्थी जीवनलाई व्यक्तित्व निर्माणको महत्वपूर्ण चरणका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले खराब बानी तथा अनुशासनहीन व्यवहारलाई असल संस्कार र अनुशासित आचरणमा रूपान्तरण गर्न विद्यार्थीलाई प्रेरित गर्नुभयो । “असल र इमानदार बन्नुहोस्, धैर्य राख्नुहोस् र आफ्नो भविष्यलाई उत्कृष्ट बनाउने दिशामा निरन्तर अघि बढ्नुहोस्,” उहाँले भन्नुभयो । कक्षा ११ र १२ को उमेर किशोरावस्थाको महत्वपूर्ण चरण भएकाले यस समयमा गरिने निर्णय, निर्माण गरिने बानी र अपनाइने संस्कारले भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, व्यवस्थापन विभाग प्रमुख सन्तोषमणि लामिछानेले विद्यार्थीले असल संस्कार निर्माण गर्नुपर्ने र असल व्यक्तिहरूसँग मित्रता तथा सकारात्मक सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थी जीवनमा संगतले व्यक्तित्व निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले असल सोच, व्यवहार र संस्कार भएका व्यक्तिसँगको सम्बन्धलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
विद्यार्थी कल्याण समिति अध्यक्ष तजेन्द्र के.सी.ले असल नागरिक निर्माणका लागि राम्रो संस्कार, अनुशासन र इमानदारी अपरिहार्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई जिम्मेवार, चरित्रवान्, अनुशासित र इमानदार बन्न आग्रह गर्दै आफ्नो व्यक्तित्वलाई उत्कृष्ट बनाउने दिशामा निरन्तर अघि बढ्न शुभकामना दिनुभयो ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक र संगीतमय बनाउँदै १२ भन्दा बढी नृत्य समूहले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । साथै, कक्षा ११ की विद्यार्थी दुर्गा क्षेत्रीले लोकगीत मार्फत आफ्नो कलाकारीता प्रस्तुत गरी कार्यक्रममा थप उत्साह र रौनक ल्याएकी थिइन्। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमले स्वागत समारोहलाई उल्लासमय बनाएको थियो ।
कालिका बहुमुखी क्याम्पस नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसमध्ये एकका रूपमा स्थापित हुँदै आएको छ । यहाँ विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न नन–क्रेडिट कोर्ष अन्तर्गत मण्टेसरी तालिम, स्थलगत भ्रमण, उद्यमशीलता लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । साथै शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिका लागि अनुसन्धानात्मक लेखन, कार्यशाला, फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जस्ता गतिविधिहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।
हाल क्याम्पसमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, व्यवस्थापन तथा मानविकी अन्तर्गत कक्षाहरु सञ्चालनमा रहेका छन् भने स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी तथा स्नातकोत्तर तहमा एम.बिबि एस. र एम. ए. आरडि.कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । निकट भविष्यमा बि.आइ.टी, बि.बि.ए., बि.एच.एम. लगायतका नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने तयारीसमेत क्याम्पसले अघि बढाएको छ ।
यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, सामाजिक उत्तरदायित्व र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसप्रकारका कार्यक्रमहरु विद्यार्थीहरुलाई जीवनको नयाँ अध्यायतर्फ अग्रसर हुन प्रेरित गर्ने एक सशक्त माध्यमको रूपमा स्थापित भएका छन् ।
