रसुवा बाढीपीडितको राहतका लागि गण्डकी सरकारको ४ करोड सहयोग

हिमाली आवाज । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत कार्यमा सहयोग पु¥याउन गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक अपिल जारी गर्दै रसुवाको बाढीले ठूलो जनधनको क्षति पु¥याएको र नागरिक प्रभावित भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त समेत गर्नुभएको छ ।

रसुवाको बाढीबाट गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै स्वदेश तथा विदेशबाट धार्मिक तथा अन्य यात्राका लागि रसुवा र नुवाकोट पुगेका नागरिकसमेत प्रभावित भएको जानकारी प्राप्त भइरहेको मुख्यमन्त्रीले बताउनुभयो ।

विशेषगरी धार्मिक यात्राका क्रममा रसुवा पुगेका केही नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो । खोजी कार्यलाई तीव्र बनाउन प्रदेश सरकारले आफ्नो तर्फबाट आवश्यक समन्वय गरिरहेको उहाँको भनाई छ ।

Comments
Loading...