हिमाली आवाज । पोखरामा रहेर शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील सामाजिक संस्था नेलम्बो नेपालले भोटेकोशी बाढी प्रभावित नागरिकका लागि आज रु पाँच लाख ५५ हजार ५५५ सहयोग गरेको छ ।
विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिनुभयो ।
हाँका अनुसार संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको राहत कोषसँग हातेमालो गर्ने निर्णय बमोजिम उक्त रकम सहयोग गरेको हो ।
“हालै रसुवा लगायत देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्को यस घडीमा उद्धार, खोज तथा राहत कार्यमा स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था र सबै सरोकारवाला एकजुट भएर अहिले सरकारलाई सहयोग गर्नुपर्छ । ” अध्यक्ष देवकोटाले भन्नुभयो ।
नेलम्बोले विपत्तिबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै सबैलाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ । यस्ता सामाजिक उत्तरदायित्वका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन संस्थाले पहल र प्रयास गर्ने अध्यक्ष देवकोटाले बताउनुभयो ।
पोखरामा रहेर शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले विगतदेखिनै विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्य गर्दै आएको छ ।
कोभिड–१९ महामारीको विषम परिस्थितिमा समेत संस्थाले गण्डकी प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य सम्बन्धी सहयोग पु¥याएको थियो ।
