हिमाली आवाज । पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम सञ्चालनमा आएको छ। गण्डकी प्रदेशमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यसहित रोयल इन्फिल्डले नयाँबजारमा अत्याधुनिक शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
१ हजार ३०० वर्गफिट क्षेत्रफलमा फैलिएको शोरुममा रोयल इन्फिल्डका मोटरसाइकलको अवलोकन तथा अनुभवका लागि विशेष व्यवस्था गरिएको छ। शोरुमसँगै ३ हजार ५०० वर्गफिट क्षेत्रफलमा सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याइएको छ। यसबाट पोखरा तथा आसपासका क्षेत्रका ग्राहकलाई नियमित मर्मतसम्भार, प्राविधिक तथा बिक्रीपछिको सेवा सहज र व्यवस्थित रूपमा उपलब्ध हुने जनाइएको छ।
नयाँ शोरुमको नेतृत्व शिशिर सुबेदी र प्रमेश पराजुलीले गर्नुभएकाे छ । उहाँहरु पाेखरामा अटोमोबाइल व्यवसायमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहनुका साथै आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत स्थापित हुनुहुन्छ । स्थानीय बजारको अनुभव र व्यावसायिक पृष्ठभूमिले रोयल इन्फिल्डको ग्राहक सेवामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।
शोरुम उद्घाटन समारोह आठ जना बटुकद्वारा गरिएको शान्ति स्वस्ति पाठबाट सुरु भएको थियो। त्यसपछि शोरुम परिसरमा पवित्र जल छर्केर धार्मिक विधिबाट शुभारम्भ गरिएको थियो। देशमा शान्ति, स्थायित्व र समृद्धिको कामनासहित गरिएको उक्त कार्यक्रमले शोरुम उद्घाटनलाई विशेष बनाएको थियो।
उद्घाटन समारोहको मुख्य आकर्षणका रूपमा रोयल इन्फिल्डको ‘गोर्खा एडिसन’ मोटरसाइकलको विशेष अनावरण गरिएको थियो। अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले उक्त मोटरसाइकल अनावरण गर्नुभयाे । यस एडिसनले गोर्खा योद्धाहरूको साहस, विरासत र वीरताको भावनालाई सम्मान गर्ने जनाइएको छ।
नयाँबजारको शोरुमले पोखरा तथा आसपासका मोटरसाइकलप्रेमीलाई रोयल इन्फिल्डको मोटरसाइकलिङ संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको छ। ग्राहक अनुभव, गुणस्तरीय बिक्रीपछिको सेवा र ‘प्योर मोटरसाइकलिङ’को अवधारणालाई केन्द्रमा राखेर शोरुम सञ्चालनमा ल्याइएको हो।
रोयल इन्फिल्ड सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको विश्वकै पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो। विशिष्ट डिजाइन, कालजयी पहिचान र ‘प्योर मोटरसाइकलिङ’को अवधारणाका कारण यसले विश्वभर राइडरहरूको समुदाय निर्माण गरेको छ। नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि हो।