हिमाली आवाज । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका र हालसम्म पहिचान खुल्न नसकेका शवको पोखरामा आजदेखी व्यवस्थापन गरिएको छ ।
बाढीका कारण गोरखा, तनहुँ, धादिङ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका विभिन्न स्थानमा फेला परेका शवहरू पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालको शवगृहमा राखिएका थिए।
पहिचान खुल्न नसकेका ती शवलाई पोखरा महानगरपालिका–१६, उपल्लो दीप सिसौघारीस्थित सिँचाइको सरकारी जग्गामा व्यवस्थापन गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो ।
बाढीपछि पोखरामा विभिन्न स्थानबाट गरी १०२ शव ल्याइएको थियो । त्यसमध्येमा १९ वटाको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएको छ भने ७८ शवको व्यवस्थापन भएको कार्कीले बताउनुभयो । पहिचानका लागि केही परिवारले दावी गरेको र विदेशी नागरिकको गरी ५ वटा शव भने अझै शवगृहमा रहेको प्रहरीले जनाएको छ ।
भोटेकोसीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि विभिन्न नदी किनारमा फेला परेका शव पोखरा ल्याइएको थियो। लामो समयसम्म पहिचान खुल्न नसकेका शवको उचित व्यवस्थापन गर्नुपर्ने अवस्था आएपछि सम्बन्धित निकायले प्रक्रिया अघि बढाएको हो ।
