हिमाली आवाज । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखरेली ट्याक्सी सेवा प्रालिले प्रधानमन्त्री राहत कोषमा रु तीन लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीको आठौँ वार्षिक साधारण सभाका अवसरमा विभिन्न शीर्षकमा हुने व्यवसायीका खर्च कटौती गरी उक्त रकम बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरिएको हो।
संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट देशमा ठूलो जनधनको क्षति भएकाले बाढीपीडितको राहतका लागि कम्पनीले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताउनुभयो ।
“पूर्वनिर्धारित साधारण सभाको अधिकांश तयारी तथा आवश्यक काम सम्पन्न भइसकेकाले कार्यक्रम पूर्ण रूपमा स्थगित गर्न नसकिएको हो । तर बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पूर्वनिर्धारित अधिकांश कार्यक्रम स्थगित गरी साधारण सभालाई छोटो र सामान्य रूपमा सम्पन्न गरेर साधारणसभाको खर्च बचाएर बाढीपिडितलाई सहयोग गरेका छौँ।” अध्यक्ष पौडेलले भन्नुभयो । साधारण सभाको उद्घाटन शान्तिदीप प्रज्वलन गरी गरिएको थियो।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले भोटेकोशी बाढीबाट धेरै यातायात व्यवसायी तथा चालकसमेत प्रभावित भएको र यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले बाढीपीडितको उद्धार तथा राहतका लागि सम्पूर्ण यातायात व्यवसायी र मजदुरलाई सक्रिय रूपमा जुट्न आह्वान समेत गर्नुभयो ।
विपद्को यस कठिन घडीमा राज्यको प्रयाससँगै निजी क्षेत्र, यातायात व्यवसायी तथा आमनागरिकको सहयोग आवश्यक रहेको सिटौलाको भनाई छ ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्षद्वय एनकुमार साई र केदारप्रसाद पौडेललगायत महासङ्घका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष माधव बराल, पर्यटन व्यवसायी तथा विभिन्न यातायात व्यवसायी सङ्घ–संस्था, प्रालि र कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै साधारण सभामा सहभागीहरूले प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता व्यक्त गरेका थिए।
छोटो तथा सामान्य रूपमा सम्पन्न गरिएको आठौँ वार्षिक साधारण सभामा कम्पनीले सञ्चालन गर्दै आएका नियमित कार्यक्रमहरूलाई भने निरन्तरता दिएको जनाएको छ।
कम्पनीका महासचिव युवराज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा यातायात व्यवसायी, पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको संस्थाका कार्यालय प्रमुख कृष्ण देवकोटाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
