हिमाली आवाज । विद्यालयको आँगनमा आज सम्मानित हुँदै गर्दा उमेरले आठ दशक पूरा गर्नुभएका हरिदत्त पोखरेलका लागि त्यो क्षण केवल सम्मान ग्रहण गर्ने अवसर मात्र थिएन । त्यो आफूले वर्षौंअघि अभाव, चुनौती र अनगिन्ती संघर्षका बीच रोपेको शिक्षाको बिरुवालाई आज विशाल वृक्षका रूपमा फक्रिएको देख्ने भावनात्मक क्षण पनि थियो ।
वि.सं. २०३७ सालमा विद्यालय स्थापना गर्दाको समय सम्झँदा आजको पुस्ताले सहजै कल्पना गर्न पनि सक्दैन । सीमित स्रोत–साधन, भौतिक पूर्वाधारको अभाव र अनेक चुनौतीका बीच एउटा विद्यालय स्थापना गर्नु आफैंमा ठूलो साहस र संघर्षको विषय थियो । त्यसबेला सुरु गरिएको शिक्षाको यात्रा आज पाँच दशकको यात्रामा आइपुग्दा यस क्षेत्रका सयौं विद्यार्थीको भविष्यसँग जोडिएको छ ।
लामो संघर्ष, उतारचढाव र निरन्तर समर्पणपछि आफूले जग हालेको विद्यालयमै झन्डै पाँच दशकपछि सम्मानित हुन पाउनु हरिदत्त पोखरेलका लागि निश्चयनै गर्व, सन्तोष र आत्मीयताको अनुपम क्षण थियो । आफूले रोपेको एउटा सानो बिरुवा समयसँगै हुर्कँदै, फैलिँदै र अनेकौं पुस्तालाई ज्ञानको उज्यालो बाँड्ने विशाल वृक्ष बनेको दृश्यभन्दा ठूलो सम्मान एउटा शिक्षकका लागि अरू के हुन सक्ला र ?

माछापुच्छ्रे गाउँपालिका–३, घाचोकस्थित शुक्ला गण्डकी माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक तथा त्यस क्षेत्रका शिक्षाको ज्योतिका रूपमा परिचित पोखरेललाई पूर्वविद्यार्थी मञ्चले गुरु सम्मान कार्यक्रम मार्फत सम्मान गरेको हो ।
विद्यालय स्थापना गर्दाका कठिनाइ, चुनौती र सीमित स्रोतका बीच विद्यालयलाई स्थापित गर्न संस्थापक प्रधानाध्यापक पोखरेलले निर्वाह गर्नुभएको भूमिका कार्यक्रममा विशेष रूपमा स्मरण गरिएको थियो। विद्यालयको स्थापनाकालीन इतिहासलाई अवगत गराउँदै वक्ताहरूले उहाँको योगदानले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण जग निर्माण गरेको बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ«े गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले विद्यालयको आगामी शैक्षिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेष अतिथि वडा नम्बर ३ का वडाध्यक्ष हरिश्चन्द्र लम्सालले पनि संस्थापक प्रधानाध्यापक पोखरेलको योगदानको प्रशंसा गर्नुभयो।
कार्यक्रममा स्थापनाकालीन पूर्वशिक्षक गुप्तबहादुर के.सी, विद्यालयका प्रधानाध्यापक दीपक पौडेल, शिक्षा समिति संयोजक रविलाल पोखरेल तथा विद्यालयको पहिलो ब्याचका विद्यार्थी शोभाकर गौतमलगायतले विद्यालयको स्थापनाकालीन इतिहास र विकासक्रमबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका संस्थापक अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्वशिक्षक कृष्णबहादुर के.सी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागिरथ दवाडी, विद्यालय व्यवस्थापन समिति सल्लाहकार संयोजक सूर्यप्रसाद लम्साल तथा शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल पोखरेल लगायतको उपस्थिति रहेको थियो।
पूर्वविद्यार्थी मञ्चका अध्यक्ष मिनराज लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको महासचिव महेश्वर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यसमिति सदस्य बुद्धि मिजारले स्वागत मन्तव्य राख्नुभएको थियो । सचिव टेकनाथ पोखरेलले सम्मान कार्यक्रमको आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष गोविन्दराज पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
