पोखराको नमस्ते फाउण्डेशनबाट भोटेकोशी बाढीपीडितका लागि रु २० लाख सहयोग

हिमाली आवाज । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नमस्ते कम्युनिटी फाउण्डेशन पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २० लाख सहयोग गरेको छ ।

यसअघि दुई चरणमा गरी फाउण्डेशनले रु १२ लाख सहयोग गरिसकेकामा आज थप रु आठ लाख कोषमा जम्मा गरिएको फाउण्डेशनका संस्थापक भिष्मराज पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार नेदरल्यान्ड्सस्थित नमस्ते फाउण्डेशनसँगको सहकार्यमा राहत अभियान सञ्चालन गरिएको थियो ।

भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गर्न हामीले हाम्रा डोनरलाई आग्रह गरेका थियौँ । उहाँहरूले पठाउनुभएको रकम राहत कोषमा जम्मा गरेका हौँ । केही रकम त्यहाँबाट सिधै राहत कोषमा समेत जम्मा भएको छ । केही दिनमा थप सहयोग रकम पनि आउनेछ ।” पौडेलले भन्नुभयो ।
फाउण्डेशनले यसअघि विसं २०७२ को भूकम्प तथा कोभिड–१९ महामारीका समयमा समेत नेपालमा सहयोग गरेको थियो ।
सरकारको ‘एकद्वार नीति’अनुसार राहत रकम तथा सहयोग वास्तविक आवश्यकतामा रहेका प्रभावितसम्म पु¥याउन सहयोग पुग्ने विश्वास फाउण्डेशनले व्यक्त गरेको छ ।
बाढीबाट प्रभावित नागरिकलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन तथा उनीहरूको कठिन अवस्थामा केही राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको फाउण्डेशनले जनाएको छ । नमस्ते फाउण्डेशनले महिला सशक्तिकरण र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
सहयोग अभियानमा साथ दिने साझेदार संस्था, दातृ निकाय, स्वयंसेवक तथा सहयोगी सबैप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ ।

Comments
Loading...