हिमाली आवाज । सम्पादक समाजले स्थापना गरेको ‘गोविन्द वियोगी स्मृति पत्रकारिता पुरस्कार’ यसवर्ष हिमालय टेलिभिजनका समाचार प्रमुख एवं यक्ष प्रश्नका संचालक राजेन्द्र वानियाँलाई प्रदान गरिने भएको छ।
समाजले समाजका संस्थापक अध्यक्ष वियोगीको स्मृतिमा रु २५ हजार एक राशीको सो पुरस्कार हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । समाजको आज बसेको बैठकले पुरस्कार बारे निर्णय गरेको हो ।
यसैगरी ‘गोविन्द वियोगी विशेष’ पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति(रासस)का वरिष्ठ सम्पादक विष्णु प्रसाद नेपाललाई प्रदान गरिने निर्णय गरिएको छ । सम्पादक नेपाल दुई दशकदेखी राससमा कार्यरत हुनुहुन्छ । पुरस्कारको राशी रु १५ हजार एक सहित ताम्रपत्र र दोसल्ला रहेको छ ।

यसैगरी समाजले पत्रकारिता क्षेत्रमा लामो योगदान पु¥याउनु हुने वरिष्ठ पत्रकारद्वय मल्ल के. सुन्दर र पुरुषोत्तम दाहाललाई ‘सम्पादक समाज सम्मान’ र रेडियो पत्रकारिता लामो योगदान पु¥याउनु हुने सञ्चारकर्मी कृष्णा ताम्राकारलाई सम्मान गर्ने समाजका महासचिव श्याम डोटेलले जानकारी दिनुभयो ।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको आकस्मिक निधन पश्चात वि.सं. २०६२ सालमा स्थापना भएका यी पुरस्कार र सम्मान स्मृति दिवसको अवसर पारेर प्रदान गरिदै आइएको छ । हरेक वर्ष माघको पहिलो हप्तामा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने स्रष्टाहरुलाई प्रदान गरिदै आएकोमा कोभिड–१९ का कारण गतवर्ष पुरस्कार र सम्मान कार्यक्रमलाई स्थगन गरिएको थियो ।
यस वर्ष पनि कोभिड–१९ को संक्रमण घटेपछि जिल्ला प्रशासन कार्यालयले भिडभाड नियन्त्रणका लागि जारी गरेको आदेश फिर्ता भएपछि पुरस्कार एवं सम्मान कार्यक्रम आयोजना गरिने सम्पादक समाजले जनाएको छ ।
