हिमाली आवाज । नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका वडा नं ८ ले चुनावी अभियानलाई तिब्रता दिएको छ । चुनाव प्रचार प्रसारको क्रममा मंगलबार कास्कीको पर्यटकिय गाउँ घलेल,कालिमाटी, केसबङका स्थानीयबीच घरदैलो गर्दै मत दिन आग्रह गरिएको छ ।
वडाध्यक्षका उम्मेदवार कृष्ण प्रसाद दवाडीको नेतृत्वमा घर–दैलो कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुले पछिल्लो कार्यकालका अधुरा विकास निर्माणका कामहरुलाई पूरा गर्नको लागि नेकपा एमालेको टिमलाई जिताउनु पर्ने बताएका थिए ।

वडा अध्यक्षका प्रत्यासी दवाडीले आफ्नो पछिल्लो कार्यकालको स्मरण गर्दै आफ्नो नेतृत्वमा पछिल्लो पाँच वर्ष वडा सरकार संचालन स्थानीय आवश्यकताहरु प्राथमिकताका आधारमा सुरु गरी जनतालाई अनुभूत हुने गरी काम गरेको बताउनुभयो । उहाँले अबको ५ बर्ष पुनः युवा जोस जाँगर, पछिल्लो कार्यकालका अनुभवहरुलाई समेत प्रयोग गरी समृद्ध माछापुच्छ्रे–८ र सुखी माछापुच्छ्रे–८ बासि को सपनालाई पुरा गर्न लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन रहेको सो वडामा अध्यक्ष पदका लागी दवाडी (नेकपा एमाले) सहित वडा सदस्य पदको लागी पदका लागी नेकपा एमालेका तर्फबाट खिममाया आचार्य, पशुपति दाहाल र बिनोद गुरुङ रहनुभएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फ बाट दलित महिला सदस्य पदका लागि फुलमाया बि.क. चुनावी मैदानमा हुनुहुन्छ । चुनाव प्रचार प्रसारमा नेकपा एमालेका विभिन्न टोल कमिटिका प्रतिनिधिहरु, नेकपा माओवादी केन्द्र माछापुच्छ्रे–८ वडा कमिटी अध्यक्ष गणेश आचार्य,लगायत स्थानिय कार्यकर्ता तथा समर्थक हरुको उपस्थिति रहेको थियो ।

