पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा, सात विधामा अवार्ड प्रदान गरिदै

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने छैटौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड–२०७८’ को सम्पूर्ण तयारी पूरा भएको छ ।मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर पोखरा सभागृहमा सञ्चालन हुने अवार्ड वितरण समारोहको आवश्यक सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै कार्यक्रममा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ ।

मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने लगायतले ट्रफी सार्वजनिक गर्नुभयो ।मञ्च अध्यक्ष बरालले स्पोर्टस् अवार्डमा सात विधामा अवार्ड वितरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी,उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड प्रदान गरिने छ ।

मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईलाई प्रदान गर्ने निर्णय अघिनै गरेको छ । खेलाडीले पछिल्लो राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मानेर अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।
मञ्चले उत्कृष्ट खेलाडीको मनोनयन समेत सार्वजनि गरेको छ । जसमा वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का हुनुहुन्छ । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल मनोनयनमा पर्नुभएको छ ।

यसैगरी उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोका रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा पर्नुभएकामा छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट एक जनालाई अवार्ड वितरण हुनेछ ।

पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारका साथमा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ ।यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वाँनिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, गजल वाचन र डेमोस्ट्रेशन रहने मञ्च अध्यक्ष बरालले जानकारी दिनुभयो ।

मञ्चले विसं २०७२ देखी खेलकुदका माध्यबाट राष्ट्रको शिर उचो राख्न सक्षम खेलाडी तथा खेल क्षेत्रमा लागेका व्यक्तिहरुलाई हौसला प्रदान गर्न वर्षेनी स्पोर्टस् अवार्ड प्रदान गर्दै आएको छ ।

Comments
Loading...