गण्डकीका सभामुख अधिकारी प्रतिनिधिसभाको उम्मेदवार सिफारिस

हिमाली आवाज । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । माओवादी केन्द्रको जिल्ला समन्वय समिति वैठकबाट अधिकारी प्रतिनिधिसभामा सिफारिस हुनुभएको हो ।

बिहीबार सम्पन्न माओवादी केन्द्रको बैठकले अधिकारीसहित प्रतिनिधिसभामा अन्य चार जनाको नाम पनि सिफारिस गरेको छ । अधिकारी यसअघि प्रदेशसभा ‘क’ मा विजयी हुनुभएको हो । उहाँ बाम गठबन्धनको साझा उमेदवारका रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजित गरी प्रदेशसभामा विजयी हुनुभएको थियो । प्रदेशसभामा उहाँ सुरुआत समयदेखि नै सभामुखका रुपमा कार्यरत रहनुभएको छ ।

अधिकारीसँगै प्रतिनिधिसभामा माओवादी केन्द्रले केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी र गङ्गा तिमिल्सिनालाई पनि सिफारिस गरेको छ । बस्याल संविधानसभा सदस्यसमेत हुनुहुन्छ । हमाल भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिका अध्यक्षमा पराजित हुनुभएको थियो भने उहाँ दोस्रो संविधानसभाको निर्वाचनमा कास्की जिल्लाबाट उम्मेदवार बन्नुभएको थियो ।

यसैगरी प्रदेशसभा ‘क’ तर्फ सुदीप कुँवर, लोकराज आचार्य, लीला दवाडी, मीनराज केसी र विजय सापकोटाको नाम सिफारिस गरेको छ । प्रदेशसभा ‘ख’ तर्फ सविन गुरुङ, उमाकान्त भूर्तेल, गगन थापा, ऋषिराम भुसाल र प्रेम रानाको नाम सिफारिस गरेको छ ।

Comments
Loading...