हिमाली आवाज । पोखरामा भोलीदेखी हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ६ देखी ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार ४२५ खेलाडी पोखरा आइसकेका मुल आयोजक समितिका सचिव जगन गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटै खेलका लागि यति ठुलो सङ्ख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमानै पहिलो हो । प्रतियोगितामा सिनियर र जुनियर तर्फको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १४ वर्षदेखि ६० वर्षसम्म महिला पुरुष गरी विभिन्न आठ तौल समूहमा कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ १४ देखि ६० वर्ष भन्दा माथी एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश सम्शेर राणाले जानकारी दिनुभयो ।
प्रतियोगिताको लागि तेक्वान्दो महासङ्घको छाता संस्था वल्ड तेक्वान्दोका अध्यक्ष डा. चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडेरेशनका अध्यक्ष प्रोफेसर लिक्यू सिोओक लगायतको विशिष्ट टोली पोखरामा आउने तय भएको बताइन्छ ।विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित दुई हजार भन्दा बढीको सहभागिता हुने अनुमान आयोजकको छ ।
विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न पाँच हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएको सङ्घले जनाएको छ ।यसअघि हालसम्म दुई पटक सफलता पूर्वक काठमाडांैमा सम्पन्न भएको प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो ।

