घान्द्रुकमा बौद्धमार्गीहरुका लागि विद्यालय निर्माण हुने

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोडको लागतमा निर्माण हुने भएको हो ।

सो विद्यालय आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडि बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुनेछ ।

विद्यालयसँगै सग्रहालय, चमेना गृह, छात्राबास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पुजा गर्ने हल र स्टुपासमेत निर्माण हुनेछ ।

गुप्ती गुरुङको अगुवाईमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका स्वर्गिय चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ, चन्द्र गुरुङ र हङ्कङ निवासी विश्वसम गुरुङको सपरिवारले १० रोपनी निशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताउनुभयो ।

‘सामाजिक मात्रै नभई धार्मिक काममा आफ्नो जग्गा दान गर्नु सामान्य विषय होइन, उहाँले भन्नुभयो, उहाँहरुले पाल डाकार छयोईदुब लीङ विद्यालयका लागि १० रोपनी जग्गा दान दिनुभएको छ । यो एउटा उदाहरणीय कार्य हो ।’

यसैगरि सो विद्यालयको निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राख्नुभयो । ‘मानिस मरेर गए भएको सम्पत्तीसँगै लैजान सक्दैन । मानवचोला सफल हुन सहयोगी हुनुपर्छ । मानवजातिको उत्थानका लागि शान्ति स्थापना हुनुपर्छ, उहाँले भन्नुभयोे, ‘सबै मानवजाति एक भए मात्र मानवता कायम हुन्छ । सबै मानव एक हौं भन्ने सन्देश दिन विद्यालयको स्थापना गर्न लागेको हो ।’

उहाँले घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको बताउदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान खेल्नेसमेत बताउनभुयो ।
अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा निर्माण हुने बौद्ध विद्यालयको बिहिबार शिलान्यास गर्दै पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताउनुभयो ।

‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएपनि विद्यार्थीहरु बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण छैन, उहाँले भन्नुभयो, ‘त्यसकारण बौद्ध शिक्षाको लागि शहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्नेछ ।’

त्यस्तै अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताउनुभयो ।
सो विद्यालय निर्माणका लागि तमु प्हे ल्हु संघका भुतपूर्व अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

Comments
Loading...