हिमाली आवाज । खानेपानी आयोजनाका पाइप चोरीमा संलग्न भएको अभियोगमा कास्कीमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नं १ का वडासदस्य खरजङ्ग गुरुङ हुन् । प्रहरीे घटनामा संलग्न भएको अभियोगमा पोखरा वडा नं.१० बस्ने वर्ष ३४ को जनप्रतिनिधि गुरुङ सहित चार जनालाई असोज ५ गते विहान १२ः४५ बजे पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
मादी गाँउपालिकावडा नं.७ काउरेडाँडा स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिई गएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी गा.पा. वडा नं.५ तर्फ ल्याउँदै गर्दा फेला पारेको थियो ।
घटनामा संलग्न भएको अभियोगमा मादी गा.पा. वडा नं.७ थाक बस्ने वर्ष ३५ को रमेश गुरुङ, सोही ठाउँ बस्ने वर्ष २६ को निरज तामाङ र लम्जुङ मध्य नेपाल नगरपालिका वडा नं ८ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १३ कसेरी बस्ने वर्ष २३ को रिदम भन्ने सुनिल परियारलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

