काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतको तलब मासिक एक लाख रुपैयाँ हुनुपर्ने बताउनुभएको छ ।
आन्तरिक राजश्व विभागले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको उल्लेख गर्नुभयो । शर्माले मुलुकको आम्दानी कम भएकाले नेपालमा सरकारी कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको प्रष्ट पार्नुभयो ।
सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । तर, यो अपर्याप्त रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’

