हिमाली आवाज । कास्कीको उत्तर पश्चिममा रहेको पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ ।
मर्दी पदयात्राको हाइक्याम्पमा हिजो साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा उहाँको भीरबाट लडेर ३५ वर्षको उमेरमा मृत्यु भएको माछापुच्छ«े गाउँपालिका वडा नं ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । गौतमले हाइक्याम्पमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो ।
गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको बताइन्छ । होटल व्यवसायी अर्को एक जना साथीसँग उहाँ पानी मर्मत गर्न जानुभएकामा चिप्लिएर एक्कासी भीरबाट खसेको बताइन्छ । गौतमको टाउकोमा चोट लागेको थियो । हाइक्याम्पको होटलबाट अन्दाजी ३० मिनेट टाढा टाढा घटना घटेको हो । घटनालगत्तै उहाँलाई स्थानीयले उद्धार गरेर ल्याएपनि उहाँको बाटैमा मृत्यु भएको बताइन्छ । गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।
गौतमको शवलाई आज विहान हेलिकप्टरबाट पोखरा ल्याइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम पछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको एक्प्लोर गर्ने र यसको प्रवद्र्धनमा ठूलो भूमिका खेल्नुभएको थियो । गौतमकै योगदान स्वरुप मर्दी पदयात्राले अहिले विश्वभर चर्चा कमाएको छ । गौतमको जन्म माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिदिङमा भएको थियो।
विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय गौतम नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य समेत हुनुहुन्थ्यो । गौतमको परिवारमा बुबा, आमा, श्रीमति एक छोरी र एक छोरा छन् ।

