हिमाली आवाज । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दवदवा देखिएको छ ।
हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा कायम छ । सेनाले सुरुआतदेखीनै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ ।
पदक तालिकाको द्धितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि आएका छन् । प्रदेशहरुले विभागीय टोलीलाई पछ्याइरहेका छन् ।
सोमबार दिउँसोसम्म ८७ स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले ३८ स्वर्ण सहित अग्रता बनाएको हो । सेनाले २७ रजत र २१ कास्य सहित ८६ पदक जितेको छ ।
यसैगरी विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२ स्वर्ण, १६ रजत र २२ कास्य सहित ५० पदक जितेर सेनालाई पछ्याइरहेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्य पदकसहित ३५ पदक जितेर तृतीय स्थानमा रहेको छ । बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले दस स्वर्ण, १६ रजत र दस कास्य सहित ३६ पदक जितेको छ ।
आयोजक गण्डकी प्रदेशले हालसम्म आठ स्वर्ण, पाँच रजत र १५ कास्य गरी २८ पदक हात पारेको छ । गैर आवासीय नेपाल संघ(एनआरएनए)ले चार स्वर्ण, तीन रजत र चार कास्य सहित ११ पदक जितेको छ ।यसैगरी मधेश प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य सहित आठ पदक ल्याउँदा प्रदेश नं १ ले एक स्वर्ण, चार रजत र १३ कास्य सहित १८ पदक जितेका छन् ।
सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, एक रजत र आठ कास्य सहित १० पदक जित्दा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले हालसम्म स्वर्ण पदक ल्याउन सकेका छैनन ।
लुम्बिनीले छ रजत र चार कास्य सहित १० पदक ल्याउँदा कर्णाली प्रदेशले एक कास्य पदक मात्र जितेर पदक तालिकाको पुछारमा छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत यही असोज २८ देखी प्रतियोगिताका ३६ वटा खेलहरु भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

