हिमाली आवाज । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले जनताको आस्था हेरेर नभई उनीहरुको आवश्यकता हेरेर विकास गर्ने बताउनुभएको छ । ड्याम साइडमा आज निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले जनताले कता भोट हाल्छन् भनेर नहेरीकन सबैको भावनाको कदर गर्दै विकास गर्ने प्रतिनिधि चाहिएको भन्दै त्यो प्रतिनिधि आफू बन्ने बताउनुभयो । आफू पाँच दलीय गठबन्धन र जनताको उम्मेदवार भएकाले जनभावनालाई केन्द्रमा राख्ने उहाँको प्रष्टोक्ति छ ।
‘हामी जनताको आस्थाको आधारमा होइन, उहाँहरुको अवश्यकताको आधारमा विकास गर्न चाहन्छौं । पाँच दलको तर्फबाट हामी मैदानमा आएका छौं । पाँच दलको सझा उम्मेदवार त हामी हुँदै हौं । हामी जनताको पनि साझा उम्मेदवार हौं । कसले कता भोट हाल्नुभयो भनेर पनि हामी भेदभाव गर्ने छैनौं । तपाईको अवश्यकता हेरेर खासगरी पोखरा र समग्र कास्कीको विकासको अगुवा भएर काम गर्छौं’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको समृद्धिको सपना पुरा गर्न आफूहरु मैदानमा आएको बताउनुभयो । उहाँले आफू प्रदेश सांसद भइसकेपछि बिचैमा अर्को अवसर आएमा जनताको ऐजण्डालाई बीचबाटोमा अलपत्र पारेर नहिड्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ, नेकपा एकीकृत समाजवादीका केन्द्र सदस्य एवंं समानुतिक उम्मेदवार रत्ना गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेल, नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, पाँच दलीय गठबन्धनका कास्की नेताहरु शिव आचार्य, रुद्ध गौतम, प्रविण पौडेल, डिआर भट्टराई र दिनेश आचार्य लगायतले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

