हिमाली आवाज । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने स्पष्ट पार्नुभएको छ ।
संयुक्त गठवन्धन निर्वाचन परिचालन समिति पोखरा महानगरपालिका वडा नं. ५ मा आयोजित संयुक्त चुनावी भेलालाई संवोधन गर्दै उम्मेद्वार बरालले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
साथै उहाँले आफ्नो ध्यान सुशासनसहितको विकासमा केन्द्रित हुने भन्दै पोखरा–५ लाई कृषि पर्यटनसंग जोड्का लागि आफूले प्रयास गर्ने स्पष्ट पार्नुभयो । पोखरा–५ कृषिका लागि उर्वर भूमि भएकाले कृषि पकेट क्षेत्र बनाउन पनि आफ्नो चाहना रहेको बरालले बताउनुभयो ।
पोखरा महानगरभित्रै केही सडक अझै पनि धुलाम्मे अवस्थामै रहेको उल्लेख गर्दै उहाँले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो । पोखरा फेवातालकै कारण पोखरा भएको उल्लेख गर्दै उहाँले फेवातालले सबैलाई फाइदा दिएकोले यसको संरक्षण अपरिहार्य भएकामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘सबै पोखरेलीलाई एकतावद्ध बनाएर फेवातालको समस्या समाधान गर्नुपर्छ । परिवर्तन र विकासमा सबैले साथ दिनुपर्छ ।’प्रदेशको प्रभावकारिताका विषयमाथि प्रश्नचिन्ह खडा भएको भन्दै उम्मेदवार बरालले आगामी दिनमा जनतामा आशा जगाउनेगरि काम गर्ने स्पष्ट पार्नुभयो ।
आफूले सरकारी जिम्मेवारीमा रहँदा पनि जनताको सेवा गरेको भन्दै उहाँले अहिले पनि जनताकै पिर, मर्का र भावना बुझेर काम गर्नकै लागि चुनावी मैदानमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘जनताको मतको अपमान कहिल्यै पनि गर्दिन, इमान्दार भएर काम गर्नेछु, मत खेर जान दिन्न र आफ्नो प्रतिवद्धता पूरा अवश्य गर्नेछु ।’
कास्की क्षेत्र नं. ३ संयुक्त गठवन्धन निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गठवन्धन देशको आवश्यकता भएकाले गठवन्धनका उम्मेद्वारलाई जसरी भए पनि जिताउन आवश्यक रहेको स्पष्ट पार्नुभयो।
एकीकृत समाजवादी पार्टीका नेता पुष्पराज बरालले उम्मेद्वारहरुले जनताका समस्यामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका वडा सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रकाश कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता पोषनाथ शर्मा, नेकपा एसका गण्डकी संयोजक प्रेम पौडेल, माओवादी केन्द्रका सचिव नवराज कोइराला लगायतले भर्ना राख्नुभएको थियो ।

