पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गछौंः उम्मेदवारद्धय बराल र भण्डारी

हिमाली आवाज । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका उमेदवार दुर्गादत्त भण्डारीले पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गर्ने बताउनुभएको छ ।

चुनावको प्रचार अभियान अन्र्तगत बुधबार पोखरा–२ स्थित विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख लगायतको क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुदै उमेदवार द्धयले पोखराको प्राचिन (पुरानो) घरहरु पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकोले त्यसको संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

पोखराको पुरानो बस्तीको रुपमा रहेको विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख क्षेत्रको सडक समेत स्तरोउन्नती गर्न स्थानियले उमेदवार समक्ष माग गरे । स्थानियको सहकार्यमा पोखराको सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्न आफुहरु कटिवद्ध भएको उम्मेदवारको भनाई छ ।

मुलुकमा राजनीतिक स्थायित्व विना आर्थिक विकास र समृद्धि नहुने उमेदवार बरालले बताउनुभयो । संविधान रक्षाको लागि हाल पाँच दलीय गठबन्धन आवश्यक भएको औचित्य जनता सामु प्रष्ट पार्दै उहाँले देशमा आर्थिक विकास र समृद्धिको लागि पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई जिताउन आवश्यक भएको बताउनुभयो ।

प्रदेश सभाका उमेदवार भण्डारीले प्रतिगमन र अग्रगमन बिरुद्धको निर्वाचन भएकोले गठबन्धनको जित आवश्यक भएको बताउनुभयो । यसपालीको निर्वाचनमा अग्रगमनको जित भए देशमा संविधानको रक्षा सहित शान्ति र समृद्धि हुने उहाँको भनाई छ ।

उमेदवार बराल र भण्डारीले नेपाली काँग्रेसका लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यारोपण समेत गर्नुभयो । घरदैलो कार्यक्रममा नेपाली काग्रेंसकी नेतृ शारदा पौडेल लगायतका नेता तथा कार्यकर्याको सहभागिता रहेको थियो । पोखरा २ र पोखरा ३ क्षेत्रमा बुधबार घरदैलो कार्यक्रम भएको थियो ।

यसैबीच, पाँच दलीय गठबन्धन पोखरा ३ को सम्पर्क कार्यालयको उमेदवार बरालले उद्घाटन गरेको नेपाली काँग्रेस वडा इकाई समिति ३ का उपसभापति मनोज सिल्पकारले बताउनुभयो ।

Comments
Loading...