हिमाली आवाज । नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको बताउनुभएको छ ।
सोमवार पोखरा ३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उहाँले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको भन्दै त्यो पार्टी एमाले नै भएको दावी समेत गर्नुभयो ।
गुरूङले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ ।’ गण्डकी प्रदेश सभाका निवर्तमान सांसद समेत रहनुभएका उहाँले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्ने समेत उल्लेख गर्नुभयो ।
त्यस्तै क्षेत्र नम्वर १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले कास्की जिल्लाका सबै क्षेत्रमा एमाले उम्मेदवार विजय हुने बताउँदै अब केन्द्र र सबै प्रदेशमा एमालेको सरकार हुने बताउनभुयो ।

