प्याराग्लाइडिङ पोखराको पहिचान हो,विस्थापन गर्न दिँदैनौँ:बराल

हिमाली आवाज । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं.३ (ख) का उम्मेद्वार प्रकाश बरालले प्याराग्लाइडिङ पोखराको पहिचान भएकोले विस्थापित गर्न नहुने बताउनुभएको छ । पोखरा आउने हरेक पर्यटकको रोजाई र गन्तव्य भएकाले प्याराग्लाइडिङ विस्थापित गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो ।

‘प्याराग्लाइडिङ व्यवसायले सयौं युवाहरुले रोजगारी पाएका छन् । पोखराको अधिकांश पर्यटन यसैले धानेको छ,’ उहाँले भन्नुभयो, ‘यसलाई विस्थापन गर्ने कुरा सुहाउँदो होइन । अन्तर्राष्ट्रिय उडान नहुने समय छुट्याएर प्याराग्लाइडिङ निरन्तर चल्नुपर्छ ।’

प्याराग्लाइडिङ विस्थापनको विरुद्ध आवाज उठाउने र सम्बन्धित ठाउँमा पैरवी गर्ने प्रतिबद्धता पनि बरालको छ । ‘सन् १९९६ देखि यहाँ प्याराग्लाइडिङ उडान शुरु भएको हो । सन् २००० देखि भने व्यावसायिक रुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका छन् । अहिले पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यसमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ’, उहाँले भन्नुभयो,‘यस विषयमा सबै गम्भीर भएर सोच्न आवश्यक छ ।’

प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विस्थापित हुने डरले व्यवसायीहरु चिन्तित बनेका छन् । यो व्यवसायमा करिब ३७५ पाइलट आवद्ध छन् भने करिब दुई हजारले रोजगारी पाएका छन् । पोखरामा तीन वटा प्याराग्लाइडिङ फ्लाइङ स्कूल, चार वटा अल्ट्रालाइट कम्पनी र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।

‘पछिल्लो समय साहसिक हवाई खेलकुदले पोखराको पहिचान थपेको छ । प्याराग्लाइडिङ व्यवसाय बन्द वा स्थानान्तरण हुँदा व्यवसायीलाई मात्रै होइन, समग्र पोखराको पर्यटन क्षेत्र नै तहस नहस हुन सक्छ’, उम्मेद्वार बरालले भन्नुभयो ।

आउँदो जनवरी १ देखिअन्तराष्ट्रिय उडान गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी छ । त्यसअघि नै प्याराग्लाइडिङ कम्पनीलाई विकल्प खोज्न निर्देशन दिइएको छ । तर व्यवसायीले पोखराबाट प्याराग्लाइडिङ विस्थापन गर्न नहुने अडान राख्दै आएका छन् ।

Comments
Loading...