हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले स्थानिय पालिकाहरुमा प्रदेशका एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७९ को मस्यौदा माथि भएको छलफलमा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनुभयो ।
प्रदेशका विभिन्न मन्त्रालयहरुले जिल्ला स्थित कार्यालयहरु स्थापना गर्दै जादा प्रदेशमा आर्थिक भार बढ्ने हुँदा त्यसलाई आर्थिक रुपमा र जनतालाई सहज तथा सरल ढंगबाट सेवा प्रवाह गर्न पनि पालिकाहरुमा प्रदेशको एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको उहाँको भनाई थियो ।
संघियताको पहिलो ५ बर्षको अनुभवले अब कम्तिमा प्रदेशको अपनत्व हुने गरी हरेक कार्यविधि तथा ऐन कानून बनाउदा ख्याल गर्नुपर्ने मन्त्री बरालले बताउनुभयो ।
प्रदेशमा शुसासन कायम गरी र प्रगतीको पथमा लैजानको लागि अब ५ बर्षको अनुभवबाट शिक्षा लिई प्रदेशका मुख्यमन्त्री, मन्त्री, कर्मचारीहरुले प्रदेशको आफ्नो बिषेशताको महत्व बुझि अपनत्व हुने गरी केही न केही गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । प्रदेशको आन्तरिक श्रोत बृद्धि नगरी प्रदेश हुनुको अर्थ नहुने ठानेर आफुले केही सार्थक प्रयास गरेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, अर्थ सचिव बिष्णुप्रसाद शर्मा लगायत प्रदेशका विभिन्न मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको अर्थ मन्त्रालयका कानून अधिकृत तेजेन्द्र प्रसाद ढकालले बताउनुभयो ।

