हिमाली आवाज । नेपालका प्रख्यात बैँकर अनिल केशरी शाहले पोखराको नयाँबजार स्थित सगरमाथा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नेतृत्व विकासका बारेमा प्रशिक्षण दिनुभएको छ ।
विद्यार्थीहरुको वित्तीय व्यवस्थापन तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी इन्ट्रायक्ट क्लब अफ सगरमाथा मिडटाउनले आयोजना गरेको कार्यक्रम ‘Energising the youth Programme’ मार्फत शाहले विद्यार्थीहरुलाई नेतृत्व विकासका विविध पक्षहरुका बारेमा स्पष्ट पार्नुभएको हो ।
कार्यक्रम पोखरा सभागृह हलमा सम्पन्न भएको थियो । यस कार्यक्रममा सगरमाथा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । यस कार्यक्रममा प्रमुख प्रशिक्षक शाहले अर्थ, व्यापार र व्यवस्थापनसँग सम्बन्धित थुप्रेै विषयमा युवाहरुको भूमिका कसरी रहन सक्छ भन्ने विषयलाई स्पष्ट रुपमा प्रस्तुत गर्नुभएको थियो ।
यसबाट उत्साहित बनेका विद्यार्थीहरुले कसरी देशको विकासमा युवाहरुको सहभागिता रहन्छ ?दु्रतआर्थिक वृद्धिदर हासिल गर्न के गर्नुपर्ला ?मुद्रा सञ्चितिलाई कसरी बलियो बनाउन सकिएला? जस्ता थुप्रै प्रश्नहरु गरेका थिए । कक्षा १२ मा अध्ययनरत छात्र समीर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरु मदिना पौडेल र दर्शन गुरुङले सञ्चालन गर्नुभएको थियो ।

