हिमाली आवाज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
पोखरामा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको सुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताउनुभयो ।
महामन्त्री थापाले निर्वाचन अघि तालमेल गरेपछि तालमेल गर्ने दलहरुले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जाहेज नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,“निर्वाचन अघि तालमेल गरेपछि तालमेल गर्ने दलहरुले धर्म निर्वाह गर्नुपर्दछ । काँग्रसले पनि अन्य विकल्प सोच्न पाउँदैन अन्यले पनि पाउँदैनन् । तालमेल गर्ने दलहरुले धर्म निर्वाह गर्नुपर्दछ । यही गठबन्धन भित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्दछ भन्ने भन्ने पक्षमा हामी थियौँ ।”
महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरुमा पार्टीका महामन्त्रीहरुको सहभागिता अनिवार्य हुने भएपनि आफूहरुलाई समावेश गर्ने र बोलावट नगरिएको बताउनुभयो । उहाँले धेरै विषयहरु सञ्चार माध्यमबाट जानकारी हुने गरेको उल्लेख गर्नुभयो ।
थापाले आफूले निर्वाचन अघि कुनै पनि दलसँग चुनावी तालमेल गर्नुहुँदैन भन्ने विचार पार्टीमा राखेको बताउनुभयो । आगामी दिनमा नेपाली काँग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्ने सक्ने गरी पार्टी पुनःनिर्माणको अभियान सुरु गरिने जानकारी दिनुभयो ।

