काँग्रेस महासमिति सदस्य महिला नेत्री गुरुङको निधन,गाउँ पूरै शोकमा

हिमाली आवाज । नेपाली काँग्रेसकी महासमिति सदस्य टेकनशोभा गुरुङको निधन भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका—३ निवासी गुरुङको आज दिउसो उपचारका क्रममा पोखराको रानिपौवास्थित मेडिप्लस अस्पतालमा ४६ वर्षको अल्पायु उमेरमा निधन भएको हो । उहाँ विगत तीन वर्षअघिदेखी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

स्व गुरुङ राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय रहनुभएको थियो । गुरुङको निधनले घाचोक र माछापुच्छ्रेवासी शोकमा परेका छन् । गुरुङले नेपाल महिला संघमा आवद्ध भएर राजनीतिक जीवन सुरु गर्नुभएको थियो । स्व गुरुङले नेपाली काँग्रेसका विभिन्न जिम्मेवारीमा रहेर आफ्नो भूमिका निर्वाह गर्नुभएको नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाका सभापति वीरेन्द्र गुरुङले बताउनुभयो ।

स्व गुरुङ पार्टीको १४ औँ महाधिवेशनबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित भएर महासमिति बन्नुभएको थियो । विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा स्व गुरुङ काँग्रेसबाट गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । उहाँले नेपाली काँग्रेसका स्थानीय तह समन्वय विभागमा रहेर समेत काम गर्नुभयो ।

स्पष्ट वक्ता, निडर र सहयोगी भावनाकी गुरुङको अल्यायुमै भएको निधनले स्थानीय शोकमा डबेका छन् । गुरुङले शिक्षा, स्वास्थ्य तथा गाउँको विकासमा आफूलाई सदैव अग्रस्थानमा उभ्भाएको काँग्रेस माछापुच्छ«ेका सभापति वीरेन्द्र गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“टेकनशोभा गुरुङले आफ्नो जीवन राजनीति र सामाजिक काममै व्यतित गर्नुभयो । अल्पायुमै उहाँलाई गुमाउनुपर्दा हामीलाई असह्य पीडा भएको छ । परिवारजन, आफन्त छिमेकी इष्टमित्र, पार्टीका नेता कार्यकर्ता सहित उहाँका सबै शुभचिन्तक शुभेच्छुक शोकमा छौँ । ”

स्व गुरुङका श्रीमान् र एक छोरा हुनुहुन्छ । उहाँको साविक माछापुच्छ्रे गाविस वडा नं १ टुसेमा विसं २०३४ असार ९ गते जन्म भएको हो । उहाँले प्रवेशिकासम्मको शिक्षा घाचोकका शुल्कागण्डकी माविबाट हासिल गर्नुभएको थियो । स्व. गुरुङको भोली पुस १४ गते विहान शवयात्रा सहित गुरुङ परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन् ।

Comments
Loading...