हिमाली आवाज । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको आज भव्य उद्घाटन गरिदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भव्य समारोहकाबीच विहान ११ बजे विमानस्थल उद्घाटनको कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।
यसैगरी उद्घाटन समारोहलाई उत्सवका रुपमा मनाउन आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
महानगरपालिका कार्यालय महाशाखाहरु, शाखाहरु, ३३ वटै वडा कार्यालयहरु तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्थाहरुहरुमा सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।
विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता सहित सेलिव्रेशनमा सहभागिताका लागि बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,“पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउन बिदा दिएका हौँ ।”
महानगरले नीजि क्षेत्रलाई समेत बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध समेत गरेको छ ।
विमानस्थल समुद्घाटन अघि महानगरले विहान अमरसिँहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभुषा सहितको ¥यालीको आयोजना गरिने जनाएको छ ।

