हिमाली आवाज । सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७ औं संस्करण आगामी फागुन ६ गते शनिबार हुने छ ।
नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका म्याराथनको तयारी सुरु भएको आयोजकले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत आठ वटा इभेन्टहरु एकै दिन हुने छ ।
मुख्य इभेन्ट अन्तर्गत खुला म्याराथन ४२ दशमलव १९५ किलोमिटर, २१ दशमलव ०९७ किलामिटर हाफ म्याराथन महिला, महिला÷पुरुष १० किलोमिटर दौड, विद्यालयस्तरिय छात्र÷छात्रा पाँच किलोमिटर दौड, महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड समावेश गरिएको मञ्चका अध्यक्ष हरि पराजुलीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँका अनुसार एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने समेत समावेश गरिएको छ । मञ्चले पुरस्कार राशीमा समेत अघिल्लो संस्करणको तुलनामा वृद्धि गरेको छ । यसपटक विजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी द्वितीयलाई रु तीन लाख, तृतीयलाई रु दुई लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई रु ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न विजेतालाई रु ५० हजार उपविजेताले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी महिला हाफ म्याराथनका विजेताले रु एक लाख ५० हजार, द्धितीयले रु एक लाख र तेस्रो हुने धाविकाले रु ७५ हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ । दस किलोमिटर सडक दौड महिला तथा पुरुषले समान रु ३० हजार रु २० हजार र रु १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
मञ्चले आधिकारिक समयको लागि ‘चिप’को व्यवस्था गर्ने निर्णय गरेको छ । धावकको जुक्तामा चिपको प्रयोग गरिने मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“धावकको टाईमिङ लिन ‘चिप’को प्रयोग गछौँ । चिप धावकको जुक्तामा लगाईने छ ।” चिपको प्रयोेगबाट निर्णायकलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
पोखरा म्याराथनलाई अन्तराष्ट्रिय म्याराथन सञ्जाल ‘एशोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाईटी’(एम्स)को मान्यता पाएको छ । मान्यतासँगै ‘सफल पोखरा म्याराथन’ अन्तराष्ट्रिय म्याराथन सञ्जालमा पुगेको छ ।

